काठमाडाैँ : चलचित्र निर्माता संघले राखेको २ बुँदे मागमा चलचित्र संघले शुक्रबारसम्म कुनै चासो नदेखाएपछि महासचिव रोज राणाको संयोजकमा निर्माताले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
नेपाल चलचित्र निर्माता संघको संघर्ष समितिका संयोजक पनि रहेका रोज राणाको अध्यक्षतामा बसेको बैठकले विभिन्न ३ बुँदे आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
निर्माता संघले नेपालभरि नै सेयर बाँडफाँडको प्रतिशत ६०/४० हुनुपर्ने र हलमार्फत हुने प्रचार प्रसारमा पनि बराबरको दायित्व हुनुपर्ने भन्दै केही दिन अगाडि चलचित्र संघलाई वार्ताका लागि आहवान गरेको थियो । तर चलचित्र संघबाट निर्माताको मागका सम्बन्धमा आधिकारिक धारणा आइसकेको छैन ।
राणाले दिएको जानकारी अनुसार जेठ १ गते सम्पूर्ण चलचित्रकर्मी कालो पट्टी बाँधेर हलमा उपस्थिति हुनेछन् भने जेठ २ गते चलचित्र विकास बोर्डमा कुनै पनि चलचित्र सेन्सर नगर्नका लागि दबाब दिदै धर्ना बस्नेछन् । जेठ ४ गतेबाट भने सम्पूर्ण चलचित्र भवनहरुमा कुनै पनि चलचित्र प्रदर्शन गर्न नदिने निर्माता संघले बताएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।