काठमाडौं । चीनको सान्या सहरमा सम्पन्न भएको मिस वल्र्ड प्रतिस्पर्धामा सहभागी विश्वका १ सय २१ सुन्दरीमध्ये श्रृङ्खला खतिवडा अन्तिम १२ सम्म पुगेर मिस वल्र्डको आफ्नो यात्रा अन्त्य गरेकी छिन् ।
उनले सन् २०१८ मा मिस नेपाल वल्र्डको ताज पहिरिदिएकी थिइन् । मिस नेपालका २५ प्रतिस्पर्धीलाई पछि पार्दै श्रृङ्खलाले मिस वल्र्डको यात्रा तय गरेकी थिइन् ।
श्रृङ्खला हेड टु हेड प्रतिस्पर्धा मार्फत टप दशमा नपरे पनि मल्टिमिडिया विधामा सफलता हात पार्दै मिस वल्र्डको फाइनल चरणमा पुगेकी थिइन् । मल्टिमिडिया बिधाको उत्कृष्ट ३ मा नेपालकी श्रृङ्खलासँग र मेक्सिको र केन्याका सुन्दरीले प्रतिस्पर्धा गरेका थिए । जहाँ श्रृङ्खला उक्त बिधाको अवार्ड हात पार्न सफल भएकी थिइन् ।
त्यसपछि गत सोमबार भएको ब्यूटी वीथ प्रपोजको अवार्ड जित्न पनि श्रृङ्खला सफल भइन् । जहाँ उनले नेपालको मकवानपुरस्थित अतिदुर्गम तथा विपन्न चेपाङ बस्तीमा हेल्थ पोस्ट स्थापना गरेको वृत्तचित्र प्रस्तुत गरेकी थिइन् । जुन भिडियोले श्रृङ्खलालाई ब्यूटी वीथ प्रपोजको अवार्ड दिलाएको थियो । तर मिस नेपाल शृङ्खला खतिवडा मिस वर्ल्डको यात्रा शीर्ष १२ मा नै टुंगिएको छ ।
मिस वर्ल्डको फाइनलमा टप १२ मा पुग्न सफल भए पनि उनले इन्टर कन्टिनेन्टल उपाधि जित्न नसकेपछि उनको यात्रा यतिमै सिमित बनेको हो ।
मिस नेपाल शृङ्खलासँगै एसिया ओसियानिया क्षेत्रबाट मिस न्युजिल्याण्ड र मिस थाइल्याण्ड पनि शीर्ष १२ मा पुगेका थिए ।
तीन सुन्दरी मध्ये मिस थाइल्याण्डले मिस वर्ल्ड एसिया–ओसियानाको उपाधि जित्दै शीर्ष पाँचमा आफ्नो स्थान बनाएकी थिइन् ।
को हुन् श्रृङ्खला ?
मिस वल्र्डकी टप १२ मा पर्न सफल भएकी श्रृङ्खला खतिवडाको पुख्र्यौली घर मकवानपुरको हेटौँडा हो । श्रृङ्खलाका बुवा प्रतिनिधिसभा सदस्य बिरोध खतिवडा हुन् भने आमा प्रदेश नम्बर ३ की प्रदेश सांसद मुनु सिग्देल हुन् ।
हेटौँडा एकेडेमीबाट प्रवेशिका उतीर्ण गरेकी श्रृङ्खलाले गोल्डनगेट इन्टरनेशनल कलेजबाट उच्च शिक्षा हासिल गरेकी हुन् । कविता लेख्नमा निकै रुचि राख्ने उनको सपना भने नेपालको प्रथम महिला प्रधानमन्त्री बन्ने छ । सन् २०१८ मा मिस नेपाल वल्र्ड बनेपछि उनले मिस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाएकी हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।