काठमाडौं, १५ फागुन । गायक कृष्ण पौडेलको नयाँ गीत ‘लुकी लुकी मायाले’ रिलिज भएको छ । गायक पौडेलले गायिका आरती अधिकारीको साथमा नयाँ लोकगीत सार्वजनिक गरेका हुन् ।
गीतको शब्द र संगीत गायक पौडेलको आफ्नै रहेको छ । पछिल्लो समय समाजमा भएको माया प्रेमको भावनालाई समेटेर ‘लुकी लुकी मायाले’ बोलको गीत तयार गरिएको गायक पौडल बताउछन् ।
यसअघि कसैको पीडा र वास्तविकता समेटेर गीत तयार गरेका पौडेलले यसपटक माया प्रेमलाई समेटेर गीत तयार गरेका हुन् । ‘‘लुकी लुकी मायाले’ बोलको गीत जिन्दगीको वास्तविकता आभास गराउने खालको छ’, उनले भने ‘माया भन्ने भावनालाई कसैले रोक्न नसक्ने र छेकेर नछेकिने भावना हो भन्ने कुरा गीतमा रहेको छ ।’
पोखराको पृथ्वीनारायण क्याम्पस पढ्दादेखि नै गीतसंगीतमा सक्रिय गायक पौडेल विदेशमा बसेर पनि नेपाली गीतसंगीतमा अभिरूचि राख्ने गर्दछन् ।
‘नेपाली संगीत सधै सुख दुःखको साथी हो, त्यसैले अनेक आरोह अवरोह आए पनि मैले सहजरूपमा ग्रहण गरेको छु’, गायक पौडेलले भने, ‘त्यसैले म प्रवासमा भएपनि नेपाली गीतसंगीतबाट टाढा हुन सकिरहेको छैन ।’
[embedded content]
विनोद बजुरालीको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोको निर्देशन होम गुरूङले गरेका छन् । सविन गुरूङको कोरियोग्राफि रहेको भिडियोमा लोमश शर्मा र अमृता सापकोटाको अभिनय रहेको छ ।
म्युजिक भिडियोको छायाङ्कन गणेश सापकोटाको रहेको छ भने दृश्य सम्पादन सुवास अमगाईले गरेका छन् । फलानो क्रियसन, पोखराको पोष्ट प्रोडक्सनमा बनेको म्युजिक भिडियो तयार भएको हो ।
कतारलाई कर्मभूमि बनाउदै आएका गायक पौडेलले लोकसंगीतलाई निरन्तरता दिदै तेस्रो गीत बजारमा ल्याएका हुन् । उनले यसअघि नयाँ दिल्ली बोलको गीतले परदेशी नेपालीहरूको मन जितेको थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।