काठमाडौं । गायक बिशाल राईको पहिलो सांगीतिक कोसेली गीती संग्रह ‘सेन्मी’ बिमोचन गरिएको छ । कोभिडको बढ्दो कारण र प्रबिधिलाई सदुपयोग गर्दै नेपाली इतिहासमै पहिलोपटक भर्चुअल माध्यमबाट गत शनिबार गीति संग्रह ‘सेन्मी’को बिमोचन गरिएको हो ।
प्रसिद्ध संगीतकार शुभबहादुर सुनाम, बरिष्ठ संगीतकार सुरेश अधिकारी, लोकप्रिय गायक राजिव लोहनी र गायक बिशाल राईले संयुक्त रुपमा ‘सेन्मी’को बिमोचन गरेका हुन् ।
५ वटा गीतहरु संग्रहित ‘सेन्मी’ एल्बममा सुरेश अधिकारीको एकल शब्द रचना र संगीत रहेको छ, भने महाराज थापाको एरेन्ज रहेको छ ।
नारी, नपिलाउ, निदै उडेर, तिमी गइ गयौ, म त हजुर गीत समाबेश गीतमध्ये ‘नारी’ गीतको म्युजिक भिडियो समेत कार्यक्रममा सार्वजनिक गरिएको थियो ।
हजारौ दर्शकले कार्यक्रमलाई म्युजिक नेपालको युट्युब च्यानलमार्फत प्रत्यक्ष हेरेका थिए । सो कार्यक्रममा गायक बिशाल राईले एल्बममा समाबेश गीतहरू लाइभ गाएर दर्शकहरुलाई मनोरन्जन गराएका थिए ।
गीति संग्रह ‘सेन्मी’लाई म्युजिक नेपालले बजारमा ल्याएको हो । ‘सेन्मी’ एल्बमका गीतहरू म्युजिक नेपालको युट्युब च्यानल र संसारभर ७० भन्दा बढी डिजिटल प्लेटफर्ममार्फत् सुन्न सकिनेछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।