काठमाडौं । उपत्यकामा वैशाख १६ देखि जारी निषेधाज्ञा हटेसँगै फिल्म हलहरु भोलिदेखि खोल्न पाइने निर्णय भएको छ।
बुधबार बसेको उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख अधिकारी (सीडीओ)हरुको बैठकले कोभिड प्रोटोकल पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिने निर्णय गरेको हो ।
बैठकपछि काठमाडौंका सिडिओ कालिप्रसाद पराजुलीले स्वास्थ्य मापदण्ड पालना गरेर सिनेमा हल सञ्चालन गर्न पाइने बताए । उनले भने, ‘बैठकले स्मार्ट लकडाउनलाई अबलम्बन गरेर सिनेमा हल खुलाउन दिने निर्णय गरेको छ ।’
तर, स्मार्ट लकडाउनअुनसार सिनेमा हल सञ्चालन भएको नपाइए कारवाही पनि हुने उनले बताएका छन्। उनका अनुसार प्रशासनको आदेशको पालना भए नभएको अनुगमन गरिनेछ ।
भोलिदेखि नै सिनेमा हल खोल्न प्रशासनले अनुमति दिए पनि सिनेमा खोल्न सकिने अवस्था नरहेको सिनेमा हल सञ्चालकहरुले बताएका छन् ।काठमाडौंका एक सिनेमा हल सञ्चालकले अहिलेको अवस्थामा सिनेमा हल खोल्न नसकिने बरु बन्द गर्नुपर्ने स्थिति देखिएको बताए ।
आर्थिक संकटको सामना गरिरहेका नाम चलेका सिनेमा हलहरु निषेधाज्ञाले सधैँका लागि बन्द भए । जस्तै : इतिहास बोकेको कमलपोखरीस्थित रहेको कुमारी हल सदाका लागि बन्द भइसकेको छ भने अन्य धेरै सिनेमा हलहरु आर्थिक अवस्थाका कारण बन्द भइसकेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।