काठमाडौं । बरिष्ठ गीतकार हिरा काजी थापा र बरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा तयार भएको अर्को सांगीतिक कोशेली ‘के छ खबर’को भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार गीतकार हिरा काजीकै अफिसियल च्यानल ह्याङ इन्टरटेनमेन्टबाट रिलिज गरिएको गीतमा बुद्ध लामा र गायिका सुनिता कार्कीको स्वर रहेको छ ।
दांगका विभिन्न रमणीय स्थलहरुमा ४ दिन लगाएर छायाङ्कन गरिएको उक्त भिडियोमा उषा उप्रेती र अभिनेता सागर खनालको अभिनय रहेको छ । लामो समयदेखि एकअर्काको प्रेममा रहेका एक जोडीको रोमाञ्चक प्रेम कहानीलाई उषा र सागरका माध्यमबाट निर्देशक हिरा काजी थापाले कलात्मक शैलीमा देखाएका छन् ।
जसमा साँचो प्रेम र प्रेममा पर्खाइको आनन्दलाई भावनात्मक शैलीमा भिडियो मार्फत प्रस्तुत गरिएको छ । राहुल प्रधानको मन मुटु छुने संगीत संयोजन रहेको गीतमा बरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको जादुमयी संगीत सिर्जना रहेको छ ।
सरल शब्द, जति सुन्यो उति सुनौँ सुनौँ लाग्ने मिठास बोकेको गीतले युवा अवस्थाका कैयौँ प्रेमीहरुको मन जित्ने विश्वास गीतकार तथा निर्देशक थापाले लिएका छन् । प्रमोद भण्डारीको कोरियोग्राफी रहेको गीतको भिडियोको छायाङ्कन सागर प्रधानले गरेका हुन् भने सम्पादन अनिल राना मगरले गरेका हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।