काठमाडौं । बलिउड उद्योगका दिग्गज अभिनेता रमेश देवको ९३ वर्षको उमेरमा निधन भएको छ । अभिनेता अजिंक्य देवले रमेश देवको हृदयघातका कारण निधन भएको जानकारी गराएका छन् ।
गत महिना मात्रै अभिनेता रमेश देव ‘जी अवार्ड’मा समेत देखिएका थिए, जहाँ उनले आफू १०० वर्ष बाँच्ने बताएका थिए । उनी आफ्नो जीवनको बारेमा धेरै सकारात्मक थिए । रमेश देवको मुम्बईस्थित धीरुभाई अम्बानी अस्पतालमा निधन भएको हो ।
अभिनेता रमेश देवको जन्म ३० जनवरीमा महाराष्ट्रको कोल्हापुरमा भएको थियो । रमेश देवको पहिलो फिल्म राजश्री प्रोडक्सनको ‘आरती’ थियो । रमेशले आफ्नो करियरमा अमिताभ बच्चन, राजेश खन्ना, शत्रुघ्न सिन्हालगायतका चर्चित स्टारहरुसँग काम गरेका थिए ।
उनले धेरै हिन्दी र मराठी फिल्ममा अभिनय गरेका छन् । रमेश देवले सन् १९५५ मा करियर सुरु गरेका थिए । उनले हालसम्म ४५० फिल्म र २५० वटा विज्ञापनमा काम गरिसकेका छन् । यसबाहेक उनले टिभी सिरिज, डकुमेन्ट्री र धेरै फिचर फिल्महरु पनि बनाएका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।