काठमाडौं । गोपिकृष्ण मुभिजले ओम, नमः र शिवाय सिनेमा हललाई सञ्चालनमा ल्याउने भएको छ । चावहिलको गोपिकृष्ण नगरस्थित गोपिकृष्ण मुभिजले (चैत ११ गते) भोलिदेखि ओम, नमः तथा शिवाय सिनेमा हललाई सञ्चालनमा ल्याउन लागेको हो ।
विज्ञप्तीमा भनिएको छ, ‘नेपाली फिल्म क्षेत्रका लागि महत्वपूर्ण हबको रुपमा रहेको गोपिकृष्ण मुभिजले नयाँ संरचना निर्माण थालनी गरेतापनि दर्शकहरु दैनिक रुपमा गोपिकृष्ण सिनेमा हलमा चलचित्र हेर्न आएर त्यसै फर्किनु परेको असुविधालाई मध्यनजर गर्दै गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्सको निर्माणलाई जारी राख्दै चैत ११ गते शुक्रवारदेखि ओम, नमः र शिवाय हललाई आवश्यक मापदण्ड पालना गरी सञ्चालनमा ल्याउने भएका छौं ।’
गोपिकृष्ण मुभिज प्रालिका निर्देशक निरक पौडेलले बुधबार एक प्रेस विज्ञप्ती जारी गरेर शुक्रवारदेखि आवश्यक मापदण्ड पालना गरी तीन वटा हल सञ्चालनमा ल्याउने जानकारी दिएका छन् । गोपिकृष्ण मुभिज प्रालि अहिले गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्सका रुपमा विस्तारित हुदैछ ।
भोलिदेखि गोपिकृष्णमा द कश्मिर फाइल्स, आरआरआर तथा चिसो एष्ट्रे प्रदर्शन हुनेछन् । गोपिकृष्ण आरजीबीमा हरेक दिन बिहान ८ बजेदेखि राति ८ बजेसम्म दैनिक १२ वटा शो सञ्चालनमा आउने छन् । यसका साथै सिनेमा हलको क्याफटेरियासमेत पूर्ण रुपमा सञ्चालनमा आउनेछ ।
कुल पाँच सय सिट क्षमताका साथ सञ्चालनमा आउने गोपिकृष्ण आरजीबी सिनेमा हलमा प्रत्येक घण्टा शोहरु सञ्चालन गरिने भएका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।