काठमाडौं । साउथका सुपरस्टार यशको फिल्म ‘केजीएफ : च्याप्टर २’को कमाईको गति बक्स अफिसमा रोकिने अवस्थामा छैन । ‘रकी भाई’ अर्थात् यशको आँधीका कारण ठूलठूला रेकर्डहरु ध्वस्त भएका छन् । यो फिल्मले विश्वभर १ हजार करोड कलेक्सन गरिसकेको छ । यसरी हजार करोडको रेकर्ड बनाउने फिल्ममध्ये ‘केजीएफ २’ चौथो बनेको छ ।
कति कमायो विश्वभर ?
ट्रेड एनालिस्ट रमेश बालाले फिल्म ‘केजीएफ च्याप्टर २’ को विश्वव्यापी तथ्याङ्कको बारेमा नयाँ जानकारी दिएका छन् । उनले ट्वीट गर्दै फिल्मले विश्वभर १००० करोडको आँकडा पार गरिसकेको बताउँदै हजार करोड क्लबमा प्रवेश गर्ने चौथो फिल्म भएको जानकारी गराएका छन् । ‘बाहुबली–२’, ‘दंगल’ र ‘आरआरआर’ पछि ‘केजीएफ च्याप्टर २’ हजार करोड कमाउने चौथो फिल्म बनेको छ ।
अजय देवगनको ‘रनवे ३४’ र टाइगर श्राफको फिल्म ‘हिरोपन्ती २’ को रिलिजले पनि ‘केजीएफ २’ को कमाईमा कुनै असर नगरेको बताइएको छ । फिल्मको हिन्दी संस्करणले अहिलेसम्म ३५३.६६ करोड रुपैयाँ कलेक्सन गरिसकेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार ईदको अवसरमा ‘केजीएफ २’ को कमाई अझै बढ्न सक्नेछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।