काठमाडौं । फिल्म ‘पानीफोटो’ आजबाट देशभर प्रदर्शनमा आएको छ । शुक्रबारबाट फिल्म देशभरका विभिन्न हलहरुमा प्रदर्शन भएको हो । ‘पानीफोटो’मार्फत् अभिनेता खगेन्द्र लामिछानेले पहिलोपटक निर्देशनमा डेब्यू गरेका छन् । टुकी आर्ट्स र मञ्जुश्री फिल्म्सले निर्माण गरेको फिल्ममा खगेन्द्र स्वयंको लेखन छ ।
फिल्मलाई खगेन्द्रकी श्रीमती रोजिना सिटौला र रवीन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा खगेन्द्रसँगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, मलिका महत, अशान्त शर्मालगायतको अभिनय रहेको छ ।
फिल्म प्रदर्शनमा आएपछि दर्शकहरुमाझ फिल्म हेर्दै नायक एवं निर्देशक लामिछानेले फिल्म राम्रो भएको बताए । फिल्म हेर्न जानेले बेकार गएछु भन्ने भान हुन नदिने बताए । उनले फिल्मको कथावस्तुले आम दर्शकलाई तान्ने बताए ।
फिल्मको चापका कारण शोजहरु कम भएपनि कथावस्तु राम्रो भएका कारण आगामी दिनमा शोहरु बढ्ने बताए । आज बिहानैदेखि हलहरुमा दर्शकको चाप बढेकोले फिल्म राम्रोसँग चल्ने विश्वास व्यक्त गरे ।
त्यस्तै अभिनेत्री मालिका महतले फिल्मको छायांकन गरेको लामो समय भएकोले के गरेको थिएँ भन्ने नै बिर्सिन लागेको अवस्थामा फिल्म प्रदर्शनमा आएको र फिल्म राम्रो रहेको बताइन् । उनले फिल्ममा सबै समय भावुक बनाउने बताइन् । आफू फिल्म हेरेर भावुक बनेको भन्दै उनले फिल्मको कथावस्तुले दर्शकको मन जित्ने बताइन् ।
काठमाडौं, बर्दिया, रोल्पा र स्याङ्जामा सुटिङ भएको फिल्मलाई दीपक बज्राचार्यले छायाङ्कन गरेका हुन् फिल्ममा निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन र पुष्पा संगमको पाश्र्व संगीत छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।