काठमाडौं । ‘नेपाली भाषा त बिर्सनु हुन्न’ गीतको भिडियो सार्वजनिक भएको छ । आइतबार एक कार्यक्रमकाबीच सिक्किमका पूर्व मुख्यमन्त्री डाक्टर पावन चाम्लिङको उपस्थितिमा भिडियो रिलिज गरिएको हो ।
अमेरिकाको ओहायो राज्यको एक्रोन सिटीमा नेपाली बालबालिका र नेपाली समुदायको बीचमा लोकप्रिय हिमालय म्यूजिक एकेडेमीको प्रस्तुतिमा तयार भएको गीतले नेपालबाट जो कोही नेपाली जति टाढा गएपनि नेपाली भाषा र संस्कृतिलाई बिर्सन नहुने सन्देश सार्वजनिक गीतले दिएको छ ।
९ वर्षीय बाल गायक अमिर गजमेरको स्वर रहेको गीतमा अमिरलाई रिया थुम्बापो, कृसुोन घतानी, प्रिस्किला शंकरले स्वरमा साथ दिएका छन् । आइतराज थुम्बापोको शब्द तथा संगीत रहेको गीतमा किशोर थापाको मिक्सिङ एण्ड मास्टरिङ रहेको छ भने पुष्प गजमेरको संगीत संयोजन रहेको छ । रमेश दियालीको डेब्यू निर्देशन रहेको भिडियोको छायांकन सुरेन्द्रमान सिंहले गरेका हुन् ।
लामो समयदेखि नेपाली कला, संस्कृति र साहित्यको जगेर्ना गर्दै आएको हिमालयन म्यूजिक एकेडेमीले अमेरिकामा रहेर पनि ब्यस्त दैनिकीका बाबजुद नेपाली भाषा र कलालाई जीवन्त राख्ने उदेश्यले लगातार सांस्कृतिक कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको छ । सार्वजनिक गीत पनि सोही कामको श्रृङ्खला भएको एकेडेमीका सीईओ पुष्प गजमेर बताउँछन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।