काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रमा रहेका सम्भावनाका ढोकालाई खोल्न आवश्यक रहेको बताए । उनले नेपाली कलाकार र प्रविधिकहरुमा दक्षताको कुनै कमी नरहेको दाबी गर्दै नेपाली सिनेमा क्षेत्रपनि संसारका सिने उद्योगसँग प्रतिष्पर्धा गर्न योग्य बनाउन पहल गर्ने बताए ।
उनले चलचित्र विकास बोर्डले नेपालमै निर्मित नेपाली भाषाका चलचित्रलाई पहिलो प्राथमिकतामा राख्ने स्पष्ट पारे । उनले चलचित्र क्षेत्रको विकास हुन नसक्नुको कारण पहिचान गरी एक÷दुई दिन भित्र नै मन्त्रालयलाई जानकारी गराउने प्रतिबद्धता जनाए ।
शनिबार काठमाडौंमा भएको नेपाल चलचित्र निर्माता संघको १६औं वार्षिक साधारण सभामा बोल्दै उनले भने, ‘चलचित्र क्षेत्रमा दुःख मात्रै छैनन् । सम्भावनाको ढोकाहरु धेरै छन् । सम्भावनाका ढोकाहरु कनि खुलिरहेका छैनन्, बन्द भएका सम्भावनाका ढोका हामी खोल्नसक्छौँ । नेपाली सिनेमा क्षेत्रपनि संसारका सिनेमा इण्डस्ट्रीसँग प्रतिष्पर्धा गर्नसक्छ । नेपाली कलाकार र नेपाली प्राविधिकहरुमा ट्यालेन्टको कुनै कमी छैन ।’
उनले थपे, ‘नेपालले बनाएको चलचित्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । म आएको एक महिना भएको छ । चलचित्र क्षेत्र अघि नबढ्नुको कारण के हो ? त्यसमा सल्लाह गरेर कारण हामी मन्त्रालयमा बुझाउने छौँ । चलचित्र उद्योगलाई बुझेर काम गर्ने हो भने विश्वमा सबैभन्दा ठूलो आयश्रोत यसबाट नै गर्नसक्छौँ । चलचित्र उद्योग आज सायद प्राथमिकतामा छैन तर चलचित्र क्षेत्र आयश्रोतको पहिलो माध्यम हो । हामी एकजुट भएर अघि बढौं, खुट्टा तान्ने काम नगरौँ ।’
अध्यक्ष केसीले चलचित्र उद्योगलाई बुझेर काम गर्ने हो भने विश्वमा सबैभन्दा ठूलो आयश्रोत चलचित्र उद्योग बन्ने दाबी गरे । उनले चलचित्र उद्योग आज प्राथमिकतामा नपरे पनि प्राथमिकतामा पार्न लायक बनाउन आफ्नो पहल रहने बताए । उनले चलचित्र क्षेत्रलाई विकास गर्न कसैले कसैको खुट्टा तान्ने नभइ एकजुट हुन जरुरी रहेको पनि बताए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।