काठमाडौं । नेपाली ऐतिहासिक फिल्म नालापानीको ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी फिल्म नालापानीको ट्रेलर सार्वजनिक गरिएको हो । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंमा आधारित भएर निर्माण भएको फिल्म ‘नालापानी’को ट्रेलरमा देख्न सकिन्छ ।
बिहीबार ट्रेलरमा नालापानी गढीमा अङ्ग्रेज सैनिकविरुद्ध नेपाली फौजले लडेको साहसिक लडाईंलाई देखाइएको छ । २ मिनेट ४१ सेकेण्ड लम्बाईको ट्रेलरमा अंग्रेजसँगको लडाईंको क्रममा देखाइएका दृश्य वास्तविक लाग्छन् । ट्रेलर हेर्दा घमासान युद्ध र ऐतिहासिक कथावस्तुमा बनेका फिल्म मन पराउने दर्शकलाई ‘नालापानी’ले आकर्षित गर्नसक्ने देखिन्छ ।
तिहारको छेको पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई रिमेश अधिकारीले निर्देशन गरेका छन् । ट्रेलर रिलिज कार्यक्रममा निर्देशक अधिकारीले लामो समय अध्ययन र अनुसन्धान गरेर ९ वर्ष लगाएर फिल्म निर्माण गरेको बताए ।
फिल्मले नेपाली वीरताको गाथा बोकेकाले सोलो रिलिजको अवसर मिलाइदिन पनि उनले फिल्म सम्बद्ध संघ–संस्था तथा राज्यसँग अपील गरे । उनले ‘नालापानी’ एक युगमा एक पटक मात्र निर्माण हुने भएकाले दर्शकलाई एकपटक हेरिदिन पनि आग्रह गरे ।
उनले भने, ‘९ वर्षको अन्तरालमा बल्ल चलचित्र रिलिजको संघारमा आएको छ । सोलो रिलिजको कुरा आयो, मलाई नै अचम्म लागिरहेको छ । चलचित्र जुन जुधिरहेको छ, उहाँहरुले नालापानीलाई सामान्य ठान्नुभएको छ कि, यसको वेट नबुझ्नुभएको हो कि ? यो उहाँहरुको पनि चलचित्र हो, किन जुधाइरहनुभएको छ मैले भन्दा पनि सरकार, संघका अध्यक्षहरुले राख्नुपर्छ ।’
कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले ट्रेलरका दृश्यहरु हेर्दा आफू पनि त्यो युद्धमा सिपाहीको रुपमा कतै लडार्इं लडिरहेको हो की भन्ने महशुस भएको बताए । उनले राज्यले समेत विशेष फिल्म भनेर उद्घोष गरिसकेको चलचित्रलाई एक हप्ता सोलोरुपमा चल्न दिनुपर्ने बताए ।
उनले आफ्नो भूगोल, संस्कृति, नेपाल र नेपालीलाई बचाउनको निम्ति वीर शहीदहरुले कुन हदसम्म लडाईं लडेका रहछन् भन्नेकुरा नालापानी फिल्मबाट अहिलेको पुस्ताले पाठ सिक्न आवश्यक रहेको बताए । उनले ‘नालापानी’लाई सोलो रिलिजको प्रवन्ध मिलाउन प्रयास भइरहेको पनि बताए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।