काठमाडौं । यही कात्तिक ६ गते लिक्विड तिहार हंगामा लाइभ म्युजिक हुने भएको छ । आमेष भण्डारी र सलोन बस्नेतले गीत गाउने भएका हुन् । लिक्विड तिहार हंगामा लाइभ म्युजिक दरबारमार्गमा राति ९ देखि १२ बजेसम्म दुवै गायकले आफ्नो प्रस्तुति दिनेछन् ।
काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै अभिनेता सलोन बस्नेतले आफ्नो विवाहको बारेमा जानकारी दिए । उनले एउटा यात्रा पूर्ण बिराम लागेर अर्को यात्रा शुरु गरेको अवसरमा विवाहको सबै टुंगो लागिसकेपछि प्रेमिकाको नामको ट्याटू हानेको बताए ।
उनले आफ्नो प्रेम यात्रा रुम नम्बर १०८ को गीतका लागि मोडल खोज्ने क्रममा भएको र त्यसपछि आफ्नो प्रेमको बारेमा फोनबाट प्रपोज गरेको बताए ।
उनले भने, ‘सबै फिक्स भएपछि ट्याटू हानेको हो । एउटा यात्रा पूर्ण बिराम लागेर अर्को यात्रा शुरु गर्दा ट्याटु हानेको हो । हामीसँगै भएपछि धेरै राम्रो परिवर्तन भयो मेरो जीवनमा । मोडल खोज्दा रुम नम्बर १०८ को काममा सँगै भेटेको हो । बानेश्वरमा भेट भयो । फोनमा गरेँ प्रपोज ।’
त्यस्तै गायक कलाकार आमेष भण्डारीले पहिलो पटक काठमाडौंमा सलोन र आफूले म्युजिक लाइभ गर्न लागेको बताउँदै सबै आएर हेर्न आग्रह गरे । त्यस्तै अभिनेता शोभित बस्नेतले सलोनको आफूभन्दा पुरानो मान्छे कोही नभएपनि अहिले प्रेमिकाको नामको ट्याटु हानेको बताए ।
उनले भने, ‘म भन्दा पुरानो सलोनको कोही छैन होला, तर मेरो नाम कतै छैन, अहिले त ट्याटु हान्न थालिसकेछ, यो यात्रा सफल होस् ।’
सलोनले एयर होस्टेस करिष्मा केसीसँग आगामी मंसिर १२ गते विवाह गर्दैछन् । ४ वर्ष लामो प्रेमलाई उनीहरुले विवाहमा परिणत गर्न लागेका हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।