काठमाडौं । ब्लकबस्टर फिल्म ‘प्रेमगीत–३’ले काठमाडौंको बूढानीलकण्ठस्थित बालगृह महासंघ पुगेर उज्यालोत्सव मनाएको छ । ‘प्रेमगीत–३’ टिमले बालगृहमा रहेका ५५ जना बालबालिकासँग फिल्मको सफलताको खुसियाली मनाएको हो ।
खुसीयाली मनाउन बालगृह पुगेका निर्माता÷निर्देशक सन्तोष सेनले भनेका छन्, ‘नेपाली फिल्मलाई संसारभरका दर्शकसम्म पुर्याउन महत्वकांक्षी योजनामा सफल र दर्शकबाट पाएको उच्च सफलताको उज्यालोत्सव मनाउँदा सबै दुःख र संघर्षका दिन भुलेका छौं । फिल्म सफल भएसँगै यो सफलताको सेलिब्रेट हामीले यसपटक फरक किसिमले फरक स्थान र व्यक्तिहरुमाझ खुसी साटेर उज्ज्यालोत्सव मनाएका छौं ।’
कलाकारसमेत रहेका सन्तोषले बूढानीलकण्ठमा रहेको बालगृह महासंघमा रहेका ५५ जना बालबालिकाहरुसँग खानपिन, देउसीभैलो तथा दीपावलीको शुभकामना आदानप्रदान गरेर सफलताको खुसी साटेको बताएका छन् । उनले भनेका छन्, ‘यहि खुसीको अवसरमा हामीले बालगृहमा बस्दै आएका सम्पूर्ण बालबालिकाको एक वर्षसम्म लाग्ने स्कूल फी, लत्ताकपडा, सिरक तथा डसना चाहिने सामग्री प्रदान गर्दै बालबालिकासँग प्रेम गीत–३ टिमले भोज गरेको छ ।’
उनले फेरि भने, ‘यो उत्सव कुनै फाइभस्टार होटलको भन्दा कम महसुस थिएन । बालगृह महासंघको भवन जीर्ण अवस्थामा थियो । हाम्रो टिमले घरलाई मर्मत सम्भार गरेर रङ्ग–रोगन गरेर उज्ज्यालो पार्दै गर्दा छुट्टै किसिमको खुसी प्राप्त भएको थियो ।’
उक्त बालगृहमा सन्तोषसँगै मुख्य कलाकारहरु प्रदीप खड्का, कृष्टिना गुरुङलगायतको उपस्थिति थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।