दक्षिण कोरिया, ५ डिसेम्बर । चर्चित गायिकाद्वय सुनिता थेगिम र रचना रिमालले आगामी डिसेम्बर १८ मा दक्षिण कोरियाको वुशानमा भव्य साँगितिक कार्यक्रम गर्ने भएका छन् ।
किरातीहरुको विशेष पर्व चासोक तङ्नाम, येले तङ्बे ५०८२ को अवसरमा गायिकाद्वय थेगिम र रिमालले वुशानमा कन्सर्ट गर्न लागेका हुन् ।
किरात याक्थुङ चुम्लुङ शाखा दक्षिण कोरियाको आयोजनामा उक्त कार्यक्रमको आयोजना हुन लागेको हो । कार्यक्रममा थेगिम र रिमालको प्रस्तुतीसँगै अन्य लिम्बू तथा किरातजन्य सांस्कृतिक कार्यक्रमहरु पनि रहने शाखा अध्यक्ष सञ्जोग कन्दङ्वाले बताउनुभयो ।
लिम्बू भाषा, कला, संस्कृतिलाई संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यले सांस्कृति कार्यक्रमको आयोजना गरिएको अध्यक्ष कन्दङ्वाले बताउनुभयो ।
किराती एवं लिम्बू समूदायलाई प्रकृतिक पुजक मानिन्छ । ऋतु परिवर्तनसँगै आफ्नो खेतबारीमा उत्पादन भएको अन्नबाली बटुल्लेपछि किराती समुदायले सबैभन्दा पहिले रमाइलो गर्दै भूमि र पितृलाई चढाएर मात्रै खाने गर्दछन् ।
सो विधिलाई नै चासोक तङ्नाम भनिन्छ । चासोक तङ्नामलाई अर्को नाममा (न्वागीपूजा) अर्थात् उँधौली पनि भन्ने गरिन्छ ।
लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।