काठमाडौं । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल र रवीन्द्र सिंह बानियाँ स्टारर् ‘महापुरुष’ले दुई सातामा ७ करोड बढीको ग्रस कलेक्शन गरेको छ । निर्माण टिमका अनुसार फिल्मले दुई साता अर्थात् १४ दिनमा ७ करोड ४ लाख रुपैयाँ ग्रस कलेक्शन गरेको हो ।
सार्वजनिक विवरण अनुसार फिल्मले पहिलो साता ४ करोड ५६ लाख रुपैयाँ ग्रस कलेक्शन गरेको थियो, भने दोस्रो साता २ करोड ८३ लाख रुपैयाँ ग्रस कलेक्शन गरेको छ । एकल प्रदर्शनमा आएको फिल्मले पहिलो साता काठमाडौं उपत्यकामा तीन करोड ६ लाख कमाई गरेको छ ।
त्यस्तै दोस्रो साता एक करोड ८९ लाख ग्रस कमाएको छ । यसका साथै मोफसलमा पहिलो साता एक करोड ५० लाख र दोस्रो साता ९४ लाख रुपैयाँ कमाइ गरेको सार्वजनिक विवरणमा उल्लेख छ । यो फिल्म शुक्रबार (आज) देखि तेस्रो सातामा प्रवेश गरेको छ ।
यसका साथै आजदेखि हलिउड फिल्म ‘वाकान्डा फरेभर’ र बलिउडको ‘उचाई’पनि दर्शकमाझ प्रदर्शनमा आएका छन् । बक्स अफिसमा हिट सावित भइसकेको महापुरुष फिल्मलाई जात्रा, शत्रु गते र जात्रै जात्रा निर्देशन गरेर दर्शक र समीक्षकको मन जितिसकेका निर्देशक प्रदीप भट्टराईले लेखन र निर्देशन गरेका हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।