काठमाडौं । लोकप्रिय गीतकार तथा संगीतकार दीपक शर्माको शब्द, संगीत रहेको ‘पिरिम नलाउने’ बोलको गीतको भिडियोले युट्युबमा १० करोड भ्युज पाएकोमा खुशियाली मनाइएको छ ।
पिरिम नलाउने टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै संगीतकार शम्भुजित बास्कोटा र ओएसआर डिजिटलका महाप्रबन्धक ओम अग्रवालको हातबाट केक काटेर १० करोड भ्यूज पाएकोमा खुशीयाली मनाएको हो ।
कार्यक्रममा बोल्दै उक्त गीतका गायक आशिष सचिनले १० करोड क्लब तथा नेपालको सबैभन्दा बढी हेरिनेमा चौथो स्थानमा आफ्नो गीत पर्दा खुशीको सिमाना नरहेको बताए । उनले ‘पिरिम नलाउने’ को सफलताले अझै राम्रो गीत दिनुपर्ने जिम्मेवारी थपेको बताए ।
संगीतकार शर्माले आफ्नो सृजना पिरिम नलगाउने सबैको प्रिय बन्दा आँफू पनि सबैको मन मनमा जोडिन पाएकोमा खुशी ब्यक्त गरे ।
संगीतकार शम्भूजीत बास्कोटाले निर्माण यूनिटको प्रशंसा गर्दै मन, मुटुमा बस्न सफल गीत नेपाली दर्शकलाई दिनु प्रशंसाको विषय भएको बताए ।
गायक हिमाल सागर, फिल्म सम्पादक नरेन्द्र खड्का लगायतको उपस्थिति रहेको कार्यक्रममा गीतसँग सम्बन्धित सबै पक्षलाई मायाको चिनो तथा सम्मान पत्र प्रदान गरिएको थियो ।
ओएसआर डिजिटलबाट रिलिज गरिएको पिरिम नलाउनेमा अभिनेत्री वर्षा राउतसँगै गायक आषिशको अभिनय रहेको छ ।
सुब्रतराज आचार्यको निर्देशन रहेको गीतको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन नबिन निरौलाले गरेका हुन् ।
(भिडियो)
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।