काठमाडौं । लोक संगीतको क्षेत्रमा छोटो समयमै छुट्टै परिचय बनाउन सफल दोहोरी गायक एवं सर्जक हुन्, अर्जुन सापकोटा । विशेषगरी युवा पुस्तामाझ लोकप्रिय रहेका अर्जुनका ‘ए ठुली’, ‘सिमलैमा मैना’, ‘बसाइ हाल्यो हरर’, ‘नगर पिर माया’, ‘पिरती नलाम माया’ जस्ता गीतहरू हिट छन् । जस्ले ‘मिलियन’ भ्युज बटुलेका छन् ।
यस्तै, ‘वनकी चरी’, ‘पछ्यौरी लिसियो’, ‘फुल्यो गुराँस’, ‘दुई दुना चार’जस्ता गीतहरूले भने ‘करोड’ भ्युज पाएको छ । ४ वर्षयता आफ्नै युट्युब च्यानलमार्फत दर्शकमाझ आफ्ना सिर्जनाहरु पस्किँदै आएका गायक सापकोटाका भिडियो गीतहरुले टिकटकमा राम्रै छाप राख्न सफल भएको छ ।
तीन वर्षअघि देवी घर्तीसँगको स्वरमा भिडियोसहित ‘वनकी चरी’ गीत सार्वजनिक भएपछि उक्त गीतले युट्युब एवं टिकटकमा राम्रो चर्चा बटुल्न सफल भयो । जुन गीतले अर्जुनलाई नयाँ चिनारी पनि दियो । त्यसपछि अर्जुनले पछाडि फर्किनुपरेन ।
त्यसपछि अर्जुनका ‘दशैं आयो’, ‘जन्मेकै गाउँ रोयो’ गीतले एकपछि अर्काे चर्चा कमायो । ‘पिरती नलाम माया’ बोलको गीत त उत्कृष्ट मै दर्ज भयो । समीक्षा अधिकारीसँग गाएको गीत ‘पछ्यौरी लिसियो’ ले त बजारको माहोल झनै ततायो । उक्त भिडियोले युट्युबमा तीन करोड हाराहारीमा भ्युज पाएको छ ।
यसैगरी राजु परियार, कमला घिमिरेलगायतसँग गाएको ‘फुल्यो गुराँस’ ले पनि दर्शकमाझ राम्रै छाप राख्यो । ‘दुई दुना चार’ बोलको गीत ‘करोड क्लब’मा छ ।
गायक एवं संगीतकार मणि सापकोटा र दुर्गा सापकोटाको जेठा छोरा हुन्, अर्जुन । वि.सं. २०५५ माघ १२ मा स्याङ्जाको पेलाकोट मान्थुम्कामा जन्मिएका अर्जुनका एक बहिनी र एक जना भाइ छन् । पाँच वर्षको उमेरमा स–परिवारसहित मध्यविन्दु ७ अम्रसा नवलपुरमा बसाइ सरेको अर्जुनको परिवार अहिले त्यहिँ छ ।
स्थायी बसोबास अम्रसामै भएपनि अर्जुनले भविष्यको कर्मथलो भने राजधानीलाई बनाए । गीतसंगीतमा सानैदेखि रुचि राख्ने अर्जुन अहिले फुर्सद मिल्नेबित्तिकै घर पुगिहाल्छन् । अरुबेला मेला महोत्सव तताउन पुग्नैपर्छ । उनी सांगीतिक टुरका क्रममा कतार, अस्ट्रेलिया र भारतसम्म पुगेका छन् ।
सांगीतिक दुनियाँमा व्यस्त अर्जुन यतिबेला क्रमशः गीत सार्वजनिक गर्ने तयारीमा छन् । उनी भन्छन्, ‘मेरो आफ्नै युट्युब च्यानलबाट आउने गरी पाँच वटा गीत तयार हुँदैछन् । अरू कम्पनीहरूको गीत पनि ल्याउने तयारी भइरहेको छ।’
‘डिजिटल प्लेटफर्म’ ले क्षमतावान जो कोहीको करिअर बनाउदै गर्दा गीतसंगीतमा आम्दानीका स्रोतहरू पनि उत्तिकै खुलिरहेका छन् । उनका अनुसार समयअनुकूल प्रविधिको सही सदुपयोग गर्न सकियो भने अगाडि बढ्न कुनै गाह्रो नहुने उनको बुझाइ छ ।
परिवार संगीतसँग जोडिएको हुनाले पनि अर्जुनलाई यो क्षेत्रमा जम्न उति गाह्रो भने भएन । किनकि उनका बुवा नै गायक एवं संगीतकार हुन् । उनी भन्छन्, ‘मेरो पारिवारिक माहोल नै संगीतमय छ ।’
बहुप्रतिभाका धनी अर्जुन गायक मात्र होइनन् आफैँ गीत पनि कोर्छन् । त्यतिमात्र होइन गीतको भाका मिलाउँछन् र म्युजिक भिडियोमा मोडलिङसमेत गर्छन् । अविवाहित अर्जुनलाई बिहे कहिले त भन्ने प्रश्नमा अहिले नै हतारो नभएको बताउँछन् । बिहेका लागि प्रस्ताव आए पनि उनी भने गीत संगीतमा बामे सर्दै गरेकाले त्यसतर्फ तत्काल सोचिनसकेको बताउँछन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।