काठमाडौं । गायिका समीक्षा अधिकारीले आफू सार्वजनिक रुपमा गलतको ट्याग भिरेर पल शाहलाई जेलबाट छुटाएको टिप्पणी गरेकी छन् ।
एक टिभी कार्यक्रममा बोल्दै उनले आफू गलतको विल्ला भिरेर पल शाहलाई मुद्धाबाट जोगाएको बताएकी हुन् ।
‘मसँग आफू गलत हुन बाहेक अन्य अप्सन नै थिएनन् । मुद्धा हाल्नुको कारण पनि धेरै थिए। आफ्नो सेफ्टीका लागि मुद्धा हालेको थिएँ । त्यो बेला मलाई मार्ने सम्मको प्लान रचिएको थियो । त्यो मलाई थाहा छ । बाहिर थाहा छैन,’ उनले भनिन्, ‘कसैलाई इनोसेन्ट देख्दैमा त्यो राम्रो मान्छे हुन्छ भन्ने छैन। त्यस कारण मलाई मार्ने सम्मको योजना थियो।’
उनले थप भनिन्, ‘बाबु आमाको काखमा हुर्किने खेल्ने बेलामा काठमाडौं आएको म । संगीत क्षेत्रमा केही गर्छु भनेर आएको तर त्यस्तै हो अब के गर्ने मान्छेहरु जस्तो पनि भेटिँदा रहेछन् । म गलत छँदै छैन। कतिले मलाई नराम्रो भन्नुहुन्छ । भन्नुस् । भन्न पाउँनुहुन्छ । तर म गलत चाही छैन । म यो घमण्डका साथ भन्न सक्छु ।’
अदालतको फैसलाले आफूलाई नै गलत देखाएपनि वास्तविक कुरा आफू र पलबीच मात्रै थाहा भएको उनले बताइन् ।
उनले अरु र आफूले ढाँटेपनि आफ्नो मनले कसैलाई ढाँट्न नसक्ने बताइन् ।
‘म गलत भएर त उहाँ निस्कनुभयो । म गलत हुन बाहेक अरु विकल्प थिएनन् । म आँफै जानी जानी गलत भएर नै मैले उहाँलाई निकालेको हो,’ उनले भनिन्, ‘आफूले मायाँ गरेको मान्छे नराम्रो ठाउँमा पुगोस भन्ने कसैले चाहँदैन । मैले मायाँ गरेकै हो ।’
नायक पल शाह र गायीका समीक्षा प्रकरणमा अदालतले फैसला गरिसकेको छ । आफूमाथि करणी भएको भन्दै समीक्षाले दिएको मुद्धामा पलले सफाइ पाइसकेका छन् । पलविरुद्ध मुद्धा हालेकी समीक्षाले नै उजुरीमा उल्लेखित वयान बाझिनेगरी दिएपछि पलले एक वर्षपछि छुटकारा पाएका हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।