काठमाडौं । फिल्म ‘बुलबुल’ मा अभिनेत्री स्वस्तिमा खड्का ट्याम्पो चालकको भूमिकामा देखिने भएकी छन् । सोमबार एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको घोषणा गरिएको हो ।
ग्ल्यामर गर्लको भूमिकामा देखिदे आएकी अभिनेत्री खड्का यो पटक भने फरक भूमिकामा देखिन लागेकी छन् । ट्याम्पो चालकको जीवनमा आधारित रहेर निर्माण हुन लागेको यो फिल्ममा खड्काले ट्याम्पो चालक महिलाको दैनिकीलाई अभिनयमार्फत प्रस्तुत गर्नेछन् ।
फिल्म ‘साघुँरो’को कथा तथा पटकथा लेखेका विनोद पौडेलको निर्देशनमा निर्माण हुन लागेको हो । अस्कर कलेजका प्रिन्सिपल समेत रहेको पौडेलले टेम्पो चालकको बाहिरी र भित्री दुवै पाटोलाई चलचित्रमा उतार्ने विश्वास व्यक्त गरेका छन् ।
निर्देशक पौडेलले यो फिल्मले एक प्रकारको समाजको दैनिकीलाई दुरुस्त उतार्ने बताएका छन् । ‘हामीले समाजका एक वर्गको चित्र प्रस्तुत गर्ने जमर्को गरेका छौं, उनले थपे । फिल्मको मुख्य भूमिकामा देखिन लागेकी अभिनेत्री स्वस्तिमाले टेम्पो चालकको भूमिकामा आफूलाई तयार गराउन टेम्पो चलाउन प्रशिक्षण लिइरहेको बताइन् । उनले फिल्म आफ्ना लागि विशेष रहेको भन्दै निकै मिहिनेत गरिरहेको सुनाइन् ।
निर्माता मध्येका एक अबिरल थापाले नेपाली फिल्मको दृश्य भाषा र प्रस्तुतिलाई लिएर उठाइँदै आएका प्रश्नहरूमध्ये फिल्मले ५१ प्रतिशत प्रश्नको उत्तर दिने बताए । साउनको पहिलो साताबाट फ्लोरमा जाने तयारीमा रहेको चलचित्रमा सुसन प्रजापतिको छायाँकन, स्वस्तिमासँगै जोयस पाण्डे, मुकुन भुसाल, लक्ष्मी बर्देवा, दीपक क्षेत्री, उज्वल अधिकारी, आशिका पाण्डे आदि कलाकारको अभिनय रहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।