काठमाडौं । पुराना, लोकप्रियका साथै कतिपय स्वर्गीय गायक/स्रष्टाको स्वरमा रेकर्ड भएका लोकभाकाका बोल, शब्द, लय र धुन चोरी गरेर गाउने क्रम बढेको छ । पुराना स्रष्टाका गीतलाई अनुमति नै नलिई तोडमोड गरेर आफ्नो नाम दिएर दाम कमाउने धन्दामा कतिपय युवा गायक/गायिका तथा संगीतकार लागिरहेको आरोप समेत लागेको छ ।
अर्काको सिर्जना बिगारी थपघट गरी अनुमति बिना आफ्नै जसरी प्रचारप्रसार गर्ने काम गर्न नपाइने व्यवस्था प्रतिलिपी अधिकार ऐन, २०५९ मा गरिएको छ । एउटा लोकभाकालाई दोहोरो रूपमा समेत चोरी गरिएको पाइएको छ । कुरो यतिमा मात्र सीमित छैन, आफूले एउटाको गीत चोरी गरेर गाएका गायकले पुरानै बोलको गीत अर्को गायकले गाउँदा आफ्नो भन्दै दावीसमेत परेको छ ।
सिताराम कार्कीको संकलनमा गायक सर्जक हरेराम कार्की र मधु क्षेत्रीको स्वर रहेको ‘जता टेक्यो कदम’ र ‘हे मेरी सानु’ बोलको गीत रेकर्ड भएको थियो ।
आफ्नो पुरानो गीत हुबहु चोरी भएकोमा सर्जक कार्की सिन्धुपाल्चोकबाट उजुरी दिन नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालय हुँदै हनुमान ढोका पुगेका छन् ।
कार्कीले गोविन्द दुलाल, सार्कीमान लामा र देवी लामाविरुद्ध प्रहरीमा उजुरी दिएका हुन् । कार्कीले प्रतिलिपि अधिकार ऐन अन्तर्गत उनीहरुलाई कारबाहीको माग गर्दै चोरीविरुद्ध उजुरी दिएका हुन् ।
चोरी भएको अहिलेको ‘ट्याक्सी मोटर कार कदम’ र ‘हे मेरी सिर्जना’ बोलको गीतमा गोविन्द दुलालको रचनामा गोविन्द दुलाल, सार्कीमान लामा र देवी दुलालले स्वर दिएका छन् ।
‘ट्याक्सी मोटर कार कदम’ बोलको गीत आफ्नो पुरानो भाका ‘जता टेक्यो कदम’ बोलको लयबाट हुबहु चोरिएको र अर्को ‘हे मेरी सिर्जना’ बोलको गीत आफ्नो लोकगीत ‘हे मेरी सानु’ बाट अनुमति बिना गाएकोले चोरिएको ठहर गर्दै उजुरी दिएको कार्कीले बताए ।
गोविन्द दुलाल आफैंमा राष्ट्रिय संगीतकर्मी संघको उपमहासचिव हुन् । सर्जक कार्की भन्छन्, ‘संस्थामा यस्ता व्यक्तिको पदसमेत खारेज गरिनुपर्छ ।’
कार्कीको आफ्नो सिर्जना चोरिएको भने यो पहिलो होइन् । यसअघि पनि आफ्नो पुरानो कल्पना ‘बल्ल बाँच्यौं जो वनै ओगटी’ भन्ने बोलको भाका नै दुईपटक चोरी भएको थियो । यसैगरी कार्कीले प्रहरीमा उजुरी दिई क्षतिपूर्ति लिइसकेका थिए ।
अब हुने यो पछिल्लो गीतको फैसलामा सामान्य किसिमले नभई कडा रुपमा आफू पनि लाग्ने र कडा कारबाही गर्ने पक्षमा सर्जक रहेका छन् । साथै कार्कीले सबै दर्शक श्रोतालाई सहयोग गर्न समेत अपिल गरेका छन् ।
पछिल्लो समय चलेका नेपाली गीतका युट्युबमा दुई/चार करोडसम्म भ्यूज हुन थालेका छन् । युट्युबले गर्दा स्वदेशमा मात्र नभएर विदेशमा पनि नेपाली गीत÷संगीत हेर्न सहज भएको छ, गीत धेरैले हेर्नेमा मात्र सीमित नभएर दर्शकको संख्यासँगै आम्दानीको स्रोत समेत बनेको छ । यही आम्दानीले पुराना स्रष्टालाई पनि केही हदसम्म जगाए पनि उजुरी गर्ने क्रम बढेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।