काठमाडौँ । मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘बोबी’को राजधानीमा बिहीबार बेलुका प्रिमियर सम्पन्न भएको छ । फिल्म शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । ठूलै तामझामका साथ फिल्मका प्रमुख कलाकार कविता, उमेश र उनीहरुका छोरालाई उपस्थित गराइएको थियो । ब्याण्डबाजा सहित प्रस्तुत भएका यी जोडी र वरपर भीड भएका कलाकर्मी र पत्रकारहरु देख्दा लाग्थ्यो कुनै विवाह समारोह चलिरहेको छ ।
सत्यकथामा आधारित यस फिल्ममा रियल जोडी कविता गुरुङ र उमेश थापालाई देख्न सकिन्छ । उनीहरूको वास्तविक जीवनमा आधारित बायोपिक चलचित्र हो ‘बोबी’ । यी दुईको प्रेम, संघर्ष र सफलताको कथा ‘बोबी’ भित्र छ । विवाहित कविता र उमेश नर्वेका एनआरएन हुन् । पेसाले उमेश इन्जिनियर र कविता होटल म्यानेजर हुन् ।
फिलममा अन्य कलाकार विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको पनि अभिनय छ । बोबी अर्थात कविता भने आफ्नो कथा पर्दामा हेर्न नसकेर फिल्म नहेरी घर फर्किएकी थिइन् । उनका श्रीमान, छोरा र अन्य परिवारहरुले भने फिल्मकर्मी र सञ्चारकर्मीसँग बसेर पूरै फिल्म हेरेका थिए ।
हलबाट बाहिरिँदै गर्दा उमेशले मिडियासँग संक्षिप्त कुराकानी गर्दै आफू फ्ल्यास ब्याकमा गएको सुनाए । ‘मैले आफूलाई सम्हाल्न सकेको थिइनँ तर पनिसँगै बसेर पूरा फिल्म हेरे ।’ चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’मा संचारकर्मी नरेश भट्टराईको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।