पति रवि लामिछानेको अस्पताल निर्माण अभियानमा सहयोग पु-याउने भनाइ
काठमाडौं, २२ माघ । पति एवं सञ्चारकर्मी रवि लामिछानेको अस्पताल निर्माण अभियानमा सहयोग गर्ने उद्देश्यका साथ निकिता पौडेलले चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ ।
मंगलबार सामाजिक सञ्जाल मार्फत एक विज्ञप्ती जारी गर्दै पौडेलले भोलि माघ २३ गतेदेखि लागू हुने गरी आफ्नो राजीनामा सञ्चार तथा सूचना प्रविधि मन्त्री समक्ष पेश गरेको जानकारी गराउनु भएको छ । उहाँले नेपाल सरकारबाट आफुले प्राप्त गरेको पछिल्लो ३ महिनाको आफ्नो सम्पूर्ण तलब बापतको रकम पनि श्रीमान रबि लामिछानेको संयोजकत्वमा निर्माण हुँदै गरेको रास्कोट सामुदायिक अस्पताललाई उपलब्ध गराएको जानकारी पनि गराउनु भएको छ ।
अब आफ्नो अधिकतम समय दुर्गम जिल्ला कालिकोटमा निर्माण हुने रास्कोट सामुदायिक अस्पतालमा समर्पित गर्ने प्रतिबद्धता पनि पौडेलले व्यक्त गर्नु भएको छ ।
जारी विज्ञप्तीमा पौडेलले भन्नु भएको छ ‘चलचित्र बिकास बोर्डको अध्यक्षको जिम्मेवारीबाट अलग भएपनि,मेरो नाभीसगै गासिएको गौरवशाली चलचित्र क्षेत्रको हितका लागि म सदैव क्रियाशील रहिरहने छु।’
ब्यक्तिगत जीवनमा ब्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भन्ने उद्देश्यले आफुले राजीनामाको निर्णय लिएको प्रष्ट पार्दै उहाँले विज्ञप्तीमा भन्नु भएको छ ‘ खुल्ला प्रतिष्पर्धा गरी लिखित एवं अन्तर्वार्ताका माध्यमबाट आफ्नो योग्यता प्रस्तुत गरेर अध्यक्ष छान्ने परम्पराको शुरूवाती प्रतिष्पर्धी हुनुको गौरव मिलेसगै, म मङ्सिर २५/२०७४ मा तत्कालीन मन्त्री परिषद्को निर्णयबाट चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएको स्मरण गराउन चाहन्छु ।
योसँगै नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक बक्स अफिस प्रणालीको शुरूवात गर्ने गौरव प्राप्त हुनु र नेपाल चलचित्र बिकास बोर्डकै पहिलो महिला अध्यक्ष हुन पाउनु पनि मेरा लागि विशेष अवसर भएका छन् ।’
उहाँले यस बाहेक,आजसम्म दिइएका सम्पूर्ण जिम्मेवारी मन्त्रालयले तोकेको समयसीमा भित्रै सफलतापूर्वक समापन गरिएको रिपोर्ट सहितको प्रगति विवरण मन्त्री समक्ष बुझाईसकेकी प्रष्ट पार्दै उर्जावान नयाँ पुस्ताका चलचित्रकर्मीहरुलाई प्रोत्साहन तथा बिशिष्ट आदरणीय चलचित्रकर्मीहरुको सम्मानमा केही उल्लेख्य कामको शुरूवात गर्ने अवसर मिलेको प्रति गौरव गर्दै विज्ञप्तीमा अगाडि भनिएको छ ‘सम्पूर्ण चलचित्र क्षेत्रको हितका लागि मेरो १४ महिने कार्यकाल पर्याप्त नभएपनि दीर्घकालीन उपलब्धिका कयौं संभावनाका ढोकाहरु खुलाउन मेरो प्रयास महत्वपूर्ण भएको ठानेकी छु ।
बक्स अफिसका अलावा, नेपाली चलचित्रका गौरवमय इतिहासको रक्षार्थ डिजिटलाइजेशन सहित अभिलेख ब्यवस्थापन, चलचित्र नगरीको अध्ययन, स्वदेशी तथा बिदेशी लगानीकर्ताहरुको सम्मेलनको अवधारणा, सन्देशमुलक चलचित्रलाई करमा सहुलियत, बिशिष्ट चलचित्रकर्मीका लागि उपचार लगायतमा सहयोगमा रकम थप, देशका विभिन्न समुदाय, जात जाति, भाषा भाषीहरुका चलचित्रहरुलाई प्रोत्साहन र सम्मान लगायतका धेरै कामहरु, केही सम्पन्न र केही शुरूवात भएका छन् ।’
पौडेलले आफनो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था र चलचित्रकर्मीहरुप्रति आभार पनि व्यक्त गर्नुभएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।