काठमाडौं । यस वर्षको एसईई परीक्षामा केही चर्चित व्यक्ति पनि सहभागि छन् । राजनीतिज्ञदेखि कलाकारिताका अनेकौं परीक्षामा उत्तीर्ण भएका दुई ‘सेलिब्रेटी’ पनि परीक्षामा सहभागि छन् । ति हुन सांसद शान्ता चौधरी र नायिका करिश्मा मानन्धर ।
कमलरी हुँदै मूलधारको राजनीतिमा छुट्टै छवी बनाउन सफल शान्ता चौधरी दाङबाट
एसईई परीक्षामा सहभागी भएकी छन् । पारिवारिक तथा सामाजिक कारणले अध्ययनबाट वञ्चित चौधरीले तुलसीपुर मावि, तुलसीपुर परीक्षा केन्द्रबाट परीक्षा दिइरहेकी हुन् ।
स्कूल जाने उमेरमा चौधरी जमिन्दारको घरमा कमलरी बसिन् । जमिन्दारको घरबाट मुक्त भएपछि पनि पढ्न पाइनन् । २०६४ सालको पहिलो संविधानसभामा सभासद हुँदासम्म चौधरीलाई आफ्नो नाम लेख्न पनि गाह्रो हुन्थ्यो । तर, स्वअध्ययन गर्दै उनले २०७२ सालमा ८ कक्षा पास गरिन । र, यस पटक एसई परीक्षाको बाटो खुल्यो । संयोग– चौधरीकी छोरीले पनि यसपटक काठमाडौंबाट
एसईई परीक्षा दिइरहेकी छन् । नेकपाको संसदीय दलको सचेतक चौधरीमा ‘पिएडी’ गर्ने धोको छ ।
करिश्मा मानन्धर चर्चित नायिका हुन् । पछिल्लो समय नयाँ शक्ति पार्टीमा सक्रिय भएपछि यिनको परिचयमा राजनीतिज्ञको पहिचान पनि थपिएको छ । यिनै नायिका करिश्मालाई पनि एसईई पास गर्ने धोको छ यस पटक । त्रिवेणी पब्लिक बोर्डिङ स्कुल मैतिदेवीमा अध्ययन गरेकी मानन्धर विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार केन्द्रबाट परीक्षा दिइरहेकी छन् ।
नेपाली चलचित्रको अभिनयमा अब्बल नम्बर लिएर पास भएकी करिश्मा एसईईको परीक्षामा पनि अब्बल नै हुने तयारीमा छिन् । परीक्षाको तयारीका लागि पार्टी र चलचित्रका कार्यक्रममा कमै देखिँदै आएकी मानन्धर नतिजा आफ्नो पक्षमा पर्नेमा ढुक्क छिन ।
शान्ता र करिश्मा आ–आफ्नो क्षेत्रमा सफल महिला हुन् । र, यिनले एसईई परीक्षामा सहभागि भएर पढ्न उमेरले छेक्दैन भन्ने सन्देश दिएका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।