काठमाडाैँ । मस्तिष्क पक्षघातसम्बन्धी जनचेतनामूलक गीत ‘नभन मेरो भाग्य’ सार्वजनिक भएकाे छ । बुधबार राजधानीमा आयाेजित एक कार्यक्रममा प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले साे गीतको विमोचन गर्नुभएको हो ।
परराष्ट्रमन्त्री ज्ञवालीले मस्तिष्क पक्षघात कुनै पूर्वजन्मको पाप वा गल्ती नभै मानवलाई आइपर्ने आकस्मिक/अनपेक्षित घटना भएको बताउनुहुँदै यस समस्यालाई हामी सबै मिलेर समाधान गर्नुपर्नेमा जाेड दिनुभयाे । उहाँले सरकारले मस्तिष्क पक्षघात पीडितका लागि सहयोग गर्न सदा तयार रहेको प्रतिबद्धता पनि व्यक्त गर्नुभयाे ।
कार्यक्रममा अभिनेता सरोज खनाल सन्देशमूलक गीतमा आफूले अभिनय गर्न पाएकोमा खुशी व्यक्त गर्दै संस्थाको थप प्रगतिको कामना गर्नुभयाे ।
काठमाडौं महानगरपालिकाका उपमेयर हरि प्रभा खड्गी श्रेष्ठले स्थानीय निकायको अधिकारले भ्याएसम्म मस्तिष्क पक्षघात पीडितलाई सहयोग गर्ने बताउनुभयाे ।
साे क्रममा गायक शिव परियारले संस्थालाई नगद रू १०,००१ सहयोग गर्नुभयाे । यसैगरी समाजसेवी नरेन्द्रबहादुर श्रेष्ठले नगद रु २१,००० सहयोग गर्नुभयाे ।
संस्थाकी अध्यक्ष उर्मिला श्रेष्ठले सहयोगको अपेक्षासहित सबैसँग हातेमालो गर्दै मस्तिष्क पक्षघात पीडितका लागि सदा निस्वार्थ भावनाले काम गर्ने बताउनुभयाे ।
अहिलेका चर्चित गायक शिव परियारको स्वर तथा नरेश कुमार प्रधानको शब्द रहेको सार्वजनिक गीतमा रिदम कडेलको संगीत तथा एरेन्ज रहेको छ । गीतको रेकर्डिस्ट महेश्वरमान राजभण्डारी रहेका छन् भने गीतलाई साउन्ड मिल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
गीतमा अभिनेता सरोज खनाल, सूर्य माला खनाल तथा बाल कलाकार श्रीवानी थापा र रुपेश लामाकाे रहेकाे छ । यसैगरी गीतको भिडियोमा निकेश खड्काकाे निर्देशन, बुद्ध थापाकाे छायांकन, र विकाश धमलाकाे सम्पादन रहेकाे छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।