काठमाडौं । यो वर्ष नेपाली बक्स अफिसमा ७० वटा भन्दा बढी फिल्महरु दर्शकमाझ रिलिजमा आएका छन् । विगत केही वर्षयता नेपाली फिल्महरुले पनि बक्स अफिसमा बलिउड फिल्मलाई पछाडि धकेल्दै ‘कमाल’ गर्दै आएको छ ।
यो वर्ष पनि दर्शकमाझ रिलिजमा आएका सबै फिल्महरुले बक्स अफिसमा ‘कमाल’ गर्न नसकेपनि केही फिल्महरुले भने उत्साहजनक ब्यापार गर्नुका साथै दर्शकहरुको मन जित्न सफल बनेका छन् । नयाँ वर्ष २०७६ सालको पात्रो पल्टिदै गर्दा हामीले २०७५ सालमा रिलिज भएका र बक्स अफिसमा राम्रो व्यापार गर्न सफल केही फिल्महरुको बारेमा जानकारी गराउँदै छौं ।
१. छक्का पञ्जा–३
यो वर्ष रिलिजमा आएको ‘छक्का पञ्जा’ सिरिज फिल्म ‘छक्का पञ्जा–३’ले दर्शहरुको मन जित्नुका साथै बक्स अफिसमा उत्कृष्ट ब्यापार गरेको छ । ग्लोबल ग्रस फिगरका अनुसार बक्स अफिसमा यो फिल्मले १८ करोड भन्दा बढीको ब्यापार गरेको छ । यो वर्षको सबै भन्दा बढी कमाई गर्ने फिल्मको रुपमा ‘छक्का पञ्जा–३’ बनेको छ । यो फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाई, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, किरण केसी, नीर शाह, अनुराग कुँवार लगायत कलाकारहरु मुख्य भूमिकामा छन् ।
२. नाई नभन्नु ल–५
यो वर्षको सबै भन्दा धेरै कमाई गर्ने अर्को फिल्म हो ‘नाई नभन्नु ल–५’ । यो फिल्मले पनि बक्स अफिसमा ५ करोड ३० लाख भन्दा बढीको ब्यापार गरेको छ । फिल्मलाई बिकासराज आचार्यले निर्देशन गरेका हुन् । फिल्ममा अनुभव रेग्मी, सेड्रिना शर्मा, प्रियंका कार्की, स्वस्तिमा खड्का, केकी अधिकारी, दिलिप रायमाझी, निरुता सिंह लगाएत कलाकारहरुको मुख्य अभिनय रहेको छ ।
३. क्याप्टेन
यसै वर्ष दर्शकमाझ रिलिजमा आएको अभिनेता अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ले पनि बक्स अफिसमा राम्रो कमाई गरेको छ । यो फिल्मले ४ करोड ५० लाख भन्दा बढीको ब्यापार गरेको छ । दिवाकर भट्टराईको निर्देशनमा बनेको यो फिल्ममा अनमोल केसी, उपासनासिंह ठकुरी, प्रियंका एमभी, विल्शन विक्रम राई लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
४. ‘इन्टु मिन्टु लण्डनमा’
यो वर्ष दर्शकमाझ रिलिजमा आएको कोरियोग्राफर रनेशा बान्तवा राईको डेब्यु निर्देशकीय फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ ले बक्स अफिसमा राम्रो ब्यापार गरेको छ । यो फिल्मले बक्स अफिसमा ४ करोड ३० लाख भन्दा बढीको ब्यापार गरेको जानकारी गराइएको छ ।
फिल्ममा धीरज मगर र साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा छन् । यसै फिल्मबाट युट्युवर धीरज मगरले आफ्नो फिल्मी करियर सुरु गरेका हुन् ।
५. रामकहानी
पूजा शर्मा र सुदर्शन थापाको फिल्म ‘रामकहानी’ले पनि यो वर्ष दर्शकहरुको राम्रो साथ पाएको छ । बक्स अफिसमा यो फिल्मले ३ करोड ८५ लाख भन्दा बढीको ब्यापार गरेको छ । फिल्ममा आकाश श्रेष्ठ र पूजा शर्माको मुख्य भूमिका रहेको छ । फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।
६. लिलीबिली
यो वर्ष मिलन चाम्सको फिल्म ‘लिलीबिली’ले पनि बक्स अफिसमा राम्रो ब्यापार गरेको छ । चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा मिलन चाम्स, गोविन्द शाही र सुदिप खड्काले फिल्मलाई निर्माण गरेका हुन् । स्कटल्याण्डमा छायाङकन गरिएको यो फिल्ममा प्रदिप खड्का र जसिता गुरुङ मुख्य भूमिकामा छन् । यो फिल्मले बक्स अफिसमा ४ करोड २ लाख भन्दा बढीको ब्यापार गरेको छ ।
७. जय भोले
यो वर्ष दर्शकमाझ रिलिजमा आएको फिल्म ‘जय भोले’ले पनि दर्शकहरुको साथ पाएको थियो । रिलिज भएको दुई दिनमै यो फिल्मले १ करोड १० लाखको ब्यापार गर्न सफल बनेको थियो । फिल्ममा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । फिल्मलाई किरण शर्मा, कृति शर्मा र अंकित शर्माको निर्माणमा अशोक शर्माले निर्देशन गरेका हुन् ।
८. बुलबुल
अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘बुलबुल’ ले पनि दर्शहरुको राम्रो साथ पाएको छ । यो फिल्मले बक्स अफिसमा ९ दिनमा ८० लाख भन्दा बढीको ब्यापार गरेको छ । फिल्ममा स्वस्तिमा खड्काले एक टेम्पो चालकको भूमिकामा देखिएकी छन् । फिल्ममा गरेको अभिनयले स्वस्तिमाले राम्रो चर्चा पाइन् । फिल्मलाई विनोद पौडेलले निर्देशन गरेका हुन् ।
९. चङ्गा चेट
यसै वर्ष दर्शकमाझ रिलिजमा आएको फिल्म ‘चङ्गा चेट’ले पनि दर्शकहरुको राम्रो साथ पाएको छ । फिल्मले बक्स अफिसमा ३ करोड ९ लाख भन्दा बढीको ब्यापार गरेको छ । दीपेन्द्र के खनालको निर्देशनमा बनेको यस फिल्ममा आयुष्मान देशराज जोशी, सन्दीप क्षेत्री, रविन्द्र झा लगाएत कलाकारहरु मुख्य भूमिकामा छन् ।
१०. प्रसाद
विपिन कार्की र नम्रता श्रेष्ठ अभिनित फिल्म ‘प्रसाद’ले पनि बक्स अफिसमा राम्रो ब्यापार गरेको छ । यो फिल्मले २ करोड ७ लाख भन्दा बढीको ब्यापार गरेको छ । फिल्मलाई सुभाष थापाले निर्माण गरेका हुन्, भने दिनेश राउतले निर्देशन गरेका हुन् । फिल्ममा विपिन र नम्रताका अलवा निश्चल बस्नेतको पनि मुख्य भूमिका रहेको छ ।
यो वर्षको धेरै आशा गरिएको अभिनेता प्रदीप खड्काको फिल्म ‘लभ स्टेशन’ले पनि खासै दर्शकहरु हलसम्म तान्न सकेन । यो फिल्ममा प्रदीपको अपोजिटमा अभिनेत्री जसिता गुरुङ मुख्य भूमिकामा छन् ।
त्यस्तै यो वर्ष आशा गरिएको अन्य दुई फिल्म ‘ए मेरो हजुर–३’ र ‘यात्रा’ शुक्रबारबाट दर्शकमाझ रिलिजमा आएका छन् । झरना थापाको निर्देशनमा बनेको ‘ए मेरो हजुर–३’मा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा छन् । अर्को फिल्म ‘यात्रा’मा चकलेटी अभिनेता सलिनमान बानियाँ मुख्य भूमिकामा छन् । नयाँ वर्ष २०७६ को अवसरमा रिलिजमा आएका यी दुई फिल्मले भने दर्शकहरुलाई हलसम्म तान्न सफल बन्ने आशा गरिएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।