- कृष्ण पाण्डे,
काठमाडौं । कतारमा स्थापना भई समग्र पाल्पालीहरुको सुख दुःखमा साथ दिँदै आएको पाल्पाली सेवा समाज दोहा कतारको छैटौं साधारणसभा, सांगीतिक कार्यक्रम तथा सम्मान कार्यक्रम भव्य रुपमा गर्ने गरी तयारी गरिएको छ ।

कार्यक्रम यही जेठ २१, २२ र २३ गते कतारमै जिल्ला स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरिएको खेल संयोजक हेम बगालेले बताउनुभयो । त्यस्तै जेठ २४ गते दोहा स्थित गल्फ प्याराडाइज होटलमा विविध सांगीतिक कार्यक्रम तथा सम्मान कार्यक्रमको आयोजना गरिएको बताइएको छ । कार्यक्रममा फिल्म निर्देशक नारायण रायमाझी, बरिष्ठ कलाकार इन्द्र जीसी, लोक तथा दोहोरी गायिका मञ्जु पौडेल, लोक तथा दोहोरी बिक्रम परियार र नृत्यंगना सपना ढेंगासहित कतारमा रहेका अन्य कलाकारहरुको समेत प्रस्तुति रहने समाजका अध्यक्ष र्इश्वर काफ्लेले बताउनुभएको छ।
कार्यक्रमले नेपाली कला संस्कृतिको संरक्षणमा टेवा पु–याउने भएकाले पनि समाजले यसप्रकारका कार्यक्रम गर्दै आएको अध्यक्ष काफ्लेले जानकारी गराउनुभयो । कार्यक्रममा पत्रकार तथा पाल्पा समाचारपत्रका सम्पादक यज्ञमूर्ति तिमिल्सिना, न्युज २४ टेलिभिजनका पत्रकार एवम् मोडल कृष्ण पाण्डेको समेत सहभागिता रहनेछ ।
कार्यक्रमको मुख्य प्रायोजकको रुपमा रानीमहल ट्रेडिङ टेलरिङ डव्लु एलएल रहेको छ । पाल्पाली सेवा समाजले पाल्पा जिल्लाका हरेक सुख दुखमा साथ दिदै आएको छ । यो समाजले हालैको वर्ष मात्रै जिल्लामा आधा दर्जन विद्यालयका गरिब तथा विपन्न परिवारका २ सय ५० विद्यार्थीलाई निःशुल्क झोला बितरण गर्नुका साथै दमकडा माध्यमिक विद्यालयको दृष्टिविहीन शाखामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ बराबरको अक्ष्यकोष स्थापना गरेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।