काठमाडौं । प्रकाश सपुत र शान्तिश्री परियारको लोक दोहोरी गीत ‘गलबन्दी’को म्युजिक भिडियो युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर एकमा आएको छ । सार्वजनिक भएको ६ दिनपछि शनिबारसम्ममा गीतले ४८ लाख बढी दर्शक ‘भ्युअर्स’ पाइसकेको छ । सपूतले अघिल्लो वर्ष निर्माण गरेको लोक गीत ‘बोल माया’ पनि युट्युब ट्रेन्डिङको नं.एकमा आएको थियो ।
जुन गीत अहिलेसम्म एक करोडभन्दा बढी पटक हेरिएको छ । बोलमायाकै पूर्वभाग ‘प्रिक्वेल’को रुपमा ‘गलबन्दी’ ल्याएको सपुतले बताएका छन् । गलबन्दीमा पनि शब्द, सङ्गीत, स्वर र श्रव्यदृश्य निर्देशन सपुतकै छ । स्वरमा सपुतलाई शान्तिश्री परियारको साथ छ । म्युजिक भिडियोमा सपुत र अञ्जली अधिकारीको अभिनय छ । भिडियो छायाङ्कन सपुतकै जन्मघर बागलुङ, धम्जामा गरिएको छ ।
“परम्परागत रोधीको झझल्को आउने गरी गीत बनेको छ”, सपुतले भने, “राम्रो प्रतिक्रिया आएको छ, उत्साहित छु ।” मौलिक शब्द, सङ्गीत र प्रस्तुतीकरणका कारण गीतलाई स्रोता, दर्शकले रुचाएका छन् ।
म्युजिक भिडियोको कथा, सोच र निर्माणपक्षसमेतले गीतलाई न्याय गरेको छ । लोक दोहोरीमा विशुद्ध मानवीय प्रेम र संवेदनाको भाव प्रकट भएको छ । “एकदमै रमाइलोका लागि बनाइएको गीत हो”, सपुतले भने, “भिडियोमा नयाँपन दिने प्रयास गरेको छु ।”
कथात्मक शैली, सिर्जनशीलता, अनौपचारिक प्रस्तुति, ठेट सम्वाद र जीवन्त अभिनयले दर्शक गीतमा लोभिन्छन् । सपुत चञ्चले युवक र अधिकारी लज्जालु युवतीका रुपमा म्युजिक भिडियोमा प्रस्तुत भएकी छन् ।
गीतको मर्म र भावलाई भिडियोमा मौलिक ढङ्गले उतार्न निर्देशकका हिसावले पनि सपुत सफल द्खिएका छन् । भिडियो हेर्ने जो कोहीलाई कलाकारको अभिनय बनावटी लाग्दैन ।
यसअघि ‘दोहोरी ब्याटल’ गाएर विवादित बनेका सपुतले सामाजिक विषयवस्तुलाई सिर्जनामार्फत मुखरित गर्दै आएका छन् । गत वर्ष सार्वजनिक ‘बोल माया’ विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको वेदनामा आधारित लोकगीत हो । विषयवस्तुको छनौट र प्रस्तुतीकरणमा ध्यान दिनसके सफल भइने पाठ आफूले सिकेको सपुतको भनाइ थियो ।
पछिल्लो समय लोकदोहोरी गीतले युट्युबमा राम्रो दर्शक पाउन थालेका छन् । गत असोजमा सार्वजनिक भएको लोकदोहोरी ‘सालको पातको टपरी’ चार करोड भन्दा बढी पटक हेरिएको छ । उक्त गीत नै युट्युबमा सबैभन्दा बढी हेरिएको पहिलो नेपाली लोकदोहोरी बन्न सफल भएको छ ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।