काठमाडौं । ‘नेपाल आइडल सिजन–२’ का विजेता रवि ओडले पछिल्लो समय निरन्तर आफ्नो गीतहरु बजारमा ल्याइरहेका छन् । गीत/संगीतसँगै उनी सामाजिक कार्यमा पनि संलग्न छन् ।
उही ‘नेपाल आइडल सिजन–२’का विजेता रवि ओडले न्युज २४ टेलिभिजनको नियमित प्रस्तुति ‘६ प्रश्न’ कार्यक्रममा टिभी जर्नलिष्ट स्मृति मल्लसंग कुराकानी गर्दै एक्कासि दर्शकहरुको साथ–सहयोगले उचाईमा पुग्न सफल भएता पनि आफूलाई अझै त्यस उचाईमा पुगे जस्तो नलाग्ने गरेको बताएका छन् ।
उनले भने, ‘नेपाल आइडल भित्रको माहौल र बाहिरी उद्योगको माहौल नै छुट्टै छ । बाहिरी उद्योगमा प्रतिस्पर्धा गर्न गाह्रो छ । बाहिर जुन किसिमको प्रतिस्पर्धा छ, त्यो एकदमै चुनौतीपूर्ण छ । त्यसैले अहिलेको समयमा आफू त्यतातिर केन्द्रित भएको छु ।’
‘नेपाल आइडल सिजन–२’को विजेता भएता पनि आफू पहिले जस्तै सामान्य रहेको उनको दाबी छ । उनले भने, ‘रवि ओड भनेको नेपाल आइडलको अडिसनमा जस्तो थियो, अहिले पनि त्यस्तै छ । मान्छेको मन न हो, कतिपयले नेपाल आइडलको विजेता भइसकेपछि आफ्नो प्रतिकृया दिइरहेका छैनन् भन्दै घमण्डी पनि भन्नुहुन्छ होला । तर, म पहिले घरमा जस्तो थिए अहिले पनि त्यस्तै छु । पहिले मलाई चिन्नुहुन्न थियो तर, अहिले चाँही बाहिरसमेत यो रवि ओड हो भनेर चिन्नुहुन्छ । मेरो यति मात्रै परिवर्तन भएको छ ।’
उनले थपे, ‘गास, बास, कपास मान्छेको आधारभूत आवश्यकतामा पर्छ । नेपाल आइडलको विजेता हुनुपूर्व म सानो घरमा बस्थेँ । तर अहिले राम्रो घरमा बसिरहेको छु । गास र कपासको व्यवस्था राम्रै भएता पनि बासको व्यवस्था खासै राम्रो थिएन । तर, अहिले सबै दर्शक तथा श्रोताहरुको सहयोगले बासको पनि राम्रो व्यवस्था भएको छ । म सानो झुपडी बस्ने मानिस पाँच तारे होटलमा सुत्ने अवसर पनि पाए , मलाई साथ र सहयोग दिनुहुने सम्पूर्णलाई धन्यबाद ।’
बाँकी कुराकानी भिडियोमा हेर्नुहोस्ः
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।