काठमाडौं । फ्लोरमा ननिस्किदै फिल्म ‘प्रेमगीत–३’ को चर्चा हेर्दा यस्तो लाग्छ, यसले बक्सअफिसमा आँधी ल्याउँदैछ । दर्शकमाझ यतिबेला कुनै फिल्मको सर्वाधिक चासो छ भने त्यो फिल्म हो ‘प्रेमगीत–३’ । एकपछि अर्को गर्दै भित्रिएका नयाँ तथा पूराना कलाकारहरुका कारण यो फिल्म छायाङकन अगावै बहुप्रतिक्षित बनेको छ ।
सम्पूर्ण युनिट अहिले वर्कसपमा लागिसकेका छन् । घोडसवारी, नृत्य, अभिनय, फाइट, लगायतको विषयमा ज्ञान लिनुपर्ने भएकाले फिल्मका कलाकारहरु आफूलाई क्यारेक्टरका लागि तयार पार्न लागि परेका छन् । फिल्मका मुख्य पात्र ८ जना पुरुष र एक जना महिला कलाकार फाइनल भइसकेका छन् । दशैंको टिका लगाएसँगै फ्लोरमा जाने भनिएको निर्माण टोली सेटको काममा धमाधम लागिरहेका छन् ।
‘प्रेमगीत–३’का लागि फाइनल भएका कलाकारहरुको बारेमाः
१. सन्तोष सेन–
४ ओटा ठूलो बजेटको फिल्म निर्माण गर्दै ‘प्रेमगीत–२’ मा भिलेनका भुमिका मार्फत दर्शकमाझ प्रस्तुत भएका थिए । निर्माणाधीन ‘प्रेमगीत–३’मा पनि उनी भिलेनकै भूमिकामा देखिदैछन् । निर्माता, कलाकार तथा निर्देशक सेन अहिले फिल्मको स्क्रिप्ट फाइनल गर्ने, सेट तयार गर्ने लगाएत वर्कसपमा समेत सहभागी भइरहेका छन् ।
२. प्रदीप खड्का–
अडिसनबाट छनौट भई ‘प्रेमगीत’बाट नै मुख्य भूमिकामा उदाएका प्रदीप खड्का यो फिल्ममा पनि उनी मुख्य भूमिकामै देखिनेछन् । ‘प्रेम’को ट्यागलाइन बनाइसकेका प्रदीप अभिनित उक्त फिल्मको दोस्रो सिरिज पनि सफल सावित भइसकेको छ । त्यसपछि विभिन्न फिल्ममा काम गरेता पनि उनका अधिकांश फिल्मले भने ‘प्रेमगीत’ सिरिजको साख जोगाउन सकेन । त्यसोत, ‘प्रेमगीत–३’ ले ओरालो लागेको प्रदीपको करियरलाई उकास्ने दर्शकहरुले अपेक्षा गरेका छन् ।
३. क्रिस्टिना गुरुङ–
‘प्रेमगीत–३’ का लागि २७ सय बढी प्रतियोगीलाई पछि पार्दै ‘गीत’ पात्रमा अनुबन्धित भएकी क्रिस्टिना गुरुङको चर्चा अहिले कुनै सुपरहिट फिल्मको अभिनेत्रीको भन्दा कम छैन । उनी डेब्यु फिल्म रिलिज नहुँदै शहरिया युवा जमातमा राम्रोसँग परिचित भएकी छन् । उनको सुन्दरता र बोल्ने शैलीले धेरैलाई आकर्षित गरिसकेको छ ।
४. मनिष राउत–
फिल्ममा मुख्य कलाकारका लागि अर्का नवनायक मनिष राउत फाइनल भएका छन् । अडिसन मार्फत छानिएका उनी फिल्ममा ‘प्रेम’ को दाजु वा भाईको भूमिकामा देखिने चर्चा छ । पोस्टर सार्वजनिक भएसँगै चर्चामा आएका उनको बिदेशी लुक र गालाको डिम्पलकै कारण पनि फ्यान फलोइङ्ग ह्वात्तै बढेको छ ।
५. शिव श्रेष्ठ–
निर्माण पक्षले ‘प्रेमगीत–३’ मा प्रदीपको बुवा अथवा राजाको भूमिकाका लागि फिल्म उद्योगका ठूल्दाई शिव श्रेष्ठलाई अनुबन्ध गरेको छ । एकादेशको काहानी भनिदै काल्पनिक पूरानो कथामा निर्माण हुन लागेको ‘प्रेमगीत–३’ मा शिवले राजाको भूमिका निभाउनेछन् ।
६. पुस्कर कार्की–
नाटकमा अभिनय गर्दै आएका पुस्कर कार्कीले मण्डला थिएटरमा मन्चन गरिएका दुर्वासा, जालिनी लगायतमा अभिनय गरेका छन् । उनी विभिन्न फेसन शोमा समेत –याम्प वाक गर्दै आएका छन् । अडिसनको क्रममा प्रेमको डमी भूमिका निभाएका थिए । सोही समयमा उनी निर्देशकद्वय छेतेन र सन्तोषको नजरमा परेका थिए ।
७. प्रेम पुरी–
फिल्म जगतका सकारात्मक विषय देखाएर नेपाली फिल्म उद्योगमा निर्माता सन्तोष सेनलाई भित्र्याउने श्रेय प्रेम पुरीलाई जान्छ । उनले सम्झिराख है फिल्मबाट डेब्यु गरेका थिए । त्यस पछि संखे पंखे चंखे, अध्याय लगायत फिल्ममा अभिनय गरिसकेका छन् ।
८. सुनिल थापा–
‘राते काइला’ नामले परिचित सुनिल थापा एक समय खलनायकका रुपमा नेपाली फिल्म उद्योगमा राज गरेका सुनिल थापा विभिन्न बलिउड तथा साउथ फिल्ममा पनि आफ्नो कला देखाइसकेका छन् । ‘प्रेमगीत–३’ को कथा र आफ्नो चरित्रले तानेको कारण फिल्म छोड्न मन नलागेको उनको भनाइ छ ।
९. अनुभव रेग्मी–
बालस्टार भनेर चिनिएका अनुवभ रेग्मी ‘प्रेम’को बाल भूमिका अर्थात सानो राजकुमारको भूमिकामा प्रस्तुत हुदैछन् ।
आसुसेन फिल्मस प्रोडक्सनको ब्यानरमा बन्दै गरेको यो फिल्मलाई मन्दिप गौतम र छेतेन गुरुङ लेखेका हुन् । निर्माता सन्तोष सेन र छेतेन गुरुङले एक साथ निर्देशन गर्न लागेको यो फिल्म सन्तोष सेनले निर्माण गर्दैछन् । निर्माता सेनको चंखे शंखे पंखे, प्रेमगीत, प्रेमगीत–२, मेरी मामु पछिको यो पाँचौं प्रोजेक्ट हो । यो फिल्म यसै वर्षको चैत २८ गतेबाट दर्शकमाझ रिलिज गरिने निर्माण पक्षको योजना रहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।