काठमाडौं । सन्तोष सेनको निर्माणाधीन फिल्म ‘प्रेमगीत–३’को मुख्य भूमिकामा अभिनेता प्रेम पुरी पनि देखिने भएका छन् । यो वर्षको मस्ट अवेइटेड यस फिल्मको लागि निर्माता सेनले अभिनेता प्रेम पुरीलाई केही दिन अघि मात्रै आधिकारिक रुपमा अनुबन्धित गरेका हुन् ।
फिल्मको एउटा महत्वपूर्ण भूमिकाको लागि राम्रै पारिश्रमिक दिएर अभिनेता प्रेम पुरीलाई अनुबन्धित गरिएको निर्माता सेनले जानकारी गराए । क्यारेक्टर अनुसार फिट भएकाले प्रेम पुरीलाई अनुबन्धित गरिएको निर्माता सेनको भनाइ छ ।
सन्तोष सेनको पहिलो फिल्म ‘चंखे, शंखे, पंखे’मा पनि अभिनेता प्रेम पुरीले मुख्य भूमिकामै काम गरिसकेका छन् । त्यो भन्दा पहिले ‘सम्झिराख है’ फिल्ममा काम गरिसकेको भएता पनि ‘चंखे शंखे पंखे’ आफ्नो करियरकै महत्वपूर्ण फिल्म भएको अभिनेता प्रेम पुरीको भनाइ छ ।
धेरै फिल्महरुको अफर छोडेपनि राम्रो ब्यानरको प्रोजेक्ट भएको कारण ‘प्रेमगीत–३’मा साइन गरेको प्रेम पुरीको दाबी छ । अभिनेता प्रेम पुरीले नै निर्माता तथा कलाकार सन्तोष सेनलाई नेपाली फिल्म उद्योगमा भित्र्याएका हुन् ।
अहिले प्रेम पुरी दिनरात ‘प्रेमगीत–३’को क्यारेक्टरका लागि अभ्यास गरिरहेका छन् । आसुसेन फिल्मसका ब्यानरमा निर्माण भइरहेको यो फिल्म नयाँ वर्षको अवसरमा चैत २८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदैछ ।
यो फिल्ममा पाका कलाकार शिब श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, प्रदीप खडका, मनिष रावत, पुष्कर कार्की, प्रेम पुरी, नव नायिका कृष्टिना गुरुङ, अनुभव रेग्मी र समृद्धी शाहीको मुख्य भूमिका रहनेछ ।
‘प्रेमगीत–३’लाई मन्दिप गौतम र छेतेन गुरुङले लेखेका हुन् । फिल्मलाई निर्माता सेन र छेतेन गुरुङले एक साथ निर्देशन गर्दैछन् । निर्माता सेनको चंखे शंखे पंखे, प्रेमगीत, प्रेमगीत–२, मेरी मामु पछिको यो पाँचौं प्रोजेक्ट हो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।