काठमाडौं । पछिल्लो समय बलिउड जस्तै केही प्रतिष्ठित ब्यानर र नाम चलेका कलाकारहरुको नेपाली फिल्महरुले पनि डिजिटल र ओभरसिज राइट्सबाट राम्रो कमाई गर्दै आएका छन् । यसैबीच निर्माणाधीन सन्तोष सेनको फिल्म ‘प्रेमगीत–३’ पनि महँगो मूल्यमा ओभरसिज राइट्स बिक्री भएको छ । निर्माता सेनको ‘प्रेमगीत–३’लाई दाताज इभेन्ट्सले विदेश राइट्सको लागि ९५ लाखमा किनेको हो ।
गएशुक्रबार फिल्म निर्माण कम्पनी आसुसेन फिल्मसका कार्यकारी प्रमुख सन्तोष सेनको जन्मदिनको अवसरमा लिखित सम्झौता गर्दै दाताज इभेन्ट्सका प्रमुख दाताराम घिमिरेले ‘प्रेमगीत–३’को ओभरसिज राइट्स खरिद गरेका हुन् । हलको व्यापारको भर नहुने भएकाले ओभरसिज राइट्सले निर्मातालाई बचाउन ठूलो सघाउ पु¥याउँदै आएको छ, भने फिल्मको आधाभन्दा बढी लगानी ओभरसिज राइट्सबाटै उठ्दै आएको छ ।
दाताज इभेन्ट्सका प्रमुख घिमिरेले ‘प्रेमगीत’ सिरिजप्रति दर्शकको विश्वास भएको कारण निर्माण टिमलाई हौसला प्रदान गर्दै फिल्मको ओभरसिज राइट्स निर्माण अगावै खरिद गरेका जानकारी गराएका छन् । उनले यस्तो ठूलो ब्यानरमा बन्न लागेको फिल्मसँग सहकार्य गर्न पाउँदा निकै खुसी भएको बताएका छन् । साथै यसबाट नेपाली फिल्म उद्योगलाई एउटा इट्टा थप्ने काम हुनेमा पूर्ण विश्वास रहेको बताएका छन् ।
अर्कोतर्फ निर्माता तथा निर्देशक सेनले आफ्नो जन्मदिन मनाउँदै निर्माण अगावै ठूलो रकममा ‘प्रेमगीत–३’को ओभरसिज राइट्स विक्री भएकाले आफूहरुमा थप जिम्मेवारी थपिएको जनाएका छन् । उनले फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने दाबी गरेका छन् ।
दशैंलगत्तै फ्लोरमा जाँदै गरेको ‘प्रेमगीत–३’मा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, प्रदीप खडका, पुष्कर कार्की, प्रेम पुरी, कृष्टिना गुरुङ, अनुभव रेग्मी, समृद्धी शाही ठकुरी, माओत्से गुरु, लक्ष्मी बर्देवा लगाएत कलाकारहरुको मुख्य भूमिका रहनेछ ।
फिल्मलाई निर्माता तथा कलाकार सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्दैछन् । निर्देशक गुरुङ र मन्दिप गौतमले फिल्मको कथा लेखेका हुन् । वर्षकै ठूलो फिल्मको रुपमा लिइएको ‘प्रेमगीत–३’ नयाँ वर्षको अवसरमा चैत २८ गतेबाट दर्शकमाझ रिलिज गरिनेछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।