- हरिशजङ्ग क्षेत्री
काठमाडौं । अहिले पनि हाम्रो नेपाली समाजमा धेरै किसिमका विकृतिहरुले गहिरो रूपमा जरा गाडेर बसेका छन् । पछिल्लो समय केहि सामाजिक विकृतिहरुले सामाजिक बन्धक तोड्न सफल भएपनि पछिल्लो समयमा नयाँ नयाँ विकृतिहरुले जन्म लिइरहेका छन् ।
समाजमा भएका विकृतिलाई उजागर गर्दै चेतना फैलाउन विगत २ दशकदेखि नेपाली रंग मञ्चमा सक्रिय पुरु लम्सालको नाटक ‘नौगेडी’ ले पनि सामाजिक विभेदलाई कडा रूपमा प्रहार गर्दै सामाजिक प्राणीहरुमा चेतनाको दियो बाल्न दोस्रो पटक काठमाडौंको सर्वनाम थिएटरमा आइपुगेको छ ।
भाद्र २७ गतेदेखि काठमाडौंमा मन्चन सुरु भएको नाटकले नुवाकोटमा जिल्लामा अवस्थित हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र दुप्चेश्वर महादेवको मेलाबाट प्रारम्भ भएको नाटक समाजबाट लोप हुन लागेको रमाइलो घाँसे गीत नेपथ्यबाट बज्दा नाटक हेर्न आउनेको ध्यानाकर्षण गर्छ । त्यसपछि मेलामा विभिन्न पात्रहरुको जमघटले मेलाको रौनक बढ्छ । मेलाको रमाइलो दोहोरीबाटै सुरु हुन्छ नाटकका प्रमुख पात्र मनमाया र च्यान्टेको प्रेम बिबाहसंगै घरजम पनि ।
‘नौगेडी’ को आशमा च्यान्टेकी भएकी मनमायाको रहरको कथा सुरु हुन्छ । नाटकले मनमाया, च्यान्टेको कथासंगै भारतमा आफन्तबाटै बेचिएकी मनमायाको ब्यथा, असल राजनीति गर्दागर्दै पनि चुनावमा परास्त भएका चन्द्रबहादुरको कथालाई नाटकले दमदार रूपमा प्रस्तुत गरेको छ ।
यो संगै नाटकमा नेपाली लोकसंस्कृतिको चित्र, समाजको सभ्यतासंगै ‘नौगेडी’ को सपना पूरा गर्न नसकेको, बच्चा दिन नसकेको च्यान्टे जस्ता अनेकौं च्यान्टेहरुको कथा, झुक्याएर आफन्तबाट बेचिनुको पीडासंगै समाजमा संघर्ष गर्दा गर्दै समाजका मान्छेहरुबाट हेपिनुको छुट्टै पिडा, असल राजनीति गर्दागर्दै पनि समाजले असल नेता नचिन्नु, मिथक विश्वास, सामाजिक – आर्थिक – राजनीतिक विसङ्गतीका विरुद्ध नाटकले जबर्जस्त रूपमा बोलेको देख्न सकिन्छ ।
अझै पनि हाम्रो समाजमा सन्तान नहुँदाको नारी हृदय, श्रीमतीको सपना पूरा गर्न नसकेका च्यान्टे जस्ता श्रीमानहरुको कथा, खराब राजनीतिको दाउपेचमा फसेका चन्द्रबहादुर जस्ता असल युवा नेताहरुको कथा व्यथाको बारेमा नाटकले प्रस्तुति दिएको छ् । नेपाली रंगमञ्चको क्षेत्रमा, भाषा, धर्म, कला, साहित्य, नाटक र पर्यटनको क्षेत्रमा निरन्तर गर्दै आएको आदिइत्यादीले नाटक ‘नौगेडी’ लाई प्रस्तुत गरेको हो । नाटक नौगेडी यसअघि सन २०१८ मा भुमिज अन्तराष्ट्रिय थिएटर फेस्टिबलको आयोजनामा बङ्गलादेशमा, राष्ट्रिय नाटक महोत्सव पोखरामा र रारा नाटक नाटक महोत्सव सुर्खेतमा समेत मन्चन गरिएको थियो ।
दुई बर्षको लामो समयपछि काठमाडौं मन्चन गर्न पाउँदा नौगेडीका लेखक तथा निर्देशक पुरु लम्साल फुरुङ्ग छन् । करिब ६० वटा नाटक गरिसकेका लम्सालले समाजमा भएका कथाहरुलाई खोजेर नाटकका रूपमा प्रस्तुत गर्ने गरेका छन्, । निर्देशक लम्साल भन्छन् अझै हाम्रो समाजमा धेरै कथाहरु लुकेर बसेका छन् ती कथाहरूलाई खोजेर प्रस्तुत गर्नुपर्ने धारणा राख्छन् । बिगत लामो समयदेखि यो क्षेत्रमा छु मैले गरेको कामले समाजलाई सकारात्मक प्रभाव पार्ने प्रयास जारी रहेको र बाकी जीवन पनि यो क्षेत्रमै रहने उनले बताए ।
‘नौगेडी’ नाटक बाङ्गलादेशमा मन्चन गरेपछि नेपाल फर्किदा भारतको दिल्लीमा बेचिएकी नुवाकोटकी एक महिलाले आफ्नै बारेमा नाटक लेखिदिनु भएकोमा धन्यवाद व्यक्त गरेको कुराले उनी नाटकको प्रभाव मान्दछ्न । ‘म मा कुनै पनी लोभ लालच छैन जे काम गर्छु असल मनले गर्छु, यो पेशाले मलाई खान लाउन पुगेको छ । यसमा नै सन्तुष्ट रहेको बताए ।’
‘नौगेडी’ नाटकमा शुशिल सिह ठकुरी, रिता थापा, आईपी आचार्य, बृहषमान सुनुवार, भीष्मराज जोशी, दिवाकर घिमिरे अनामिका लामिछाने, राहुल श्रेष्ठ, अस्मिता बयलकोटी, समीर खनाल, रुवि सत्याल र जयराम तिमिल्सिनाको अभिनय रहेकोछ् । नाटको प्रवर्द्धनका रूपमा भिजन २०२० मा रहेको नेपाल पर्यटन बोर्ड रहेकोछ ।
नाटकको संगीत संयोजन नारायण दंगाल गरेका हुन भने पार्श्व गायन सिद्धान्त परियार र लक्ष्मी स्याङ्तानको रहेको छ । नाटक असोज १२ गतेसम्म सर्वनाम थिएटरमा मन्चन हुने नाटकका सहायक निर्देशक आईपी आचार्यले जानकारी गराउनुभयो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।