काठमाडाैँ, ३० भदाै । सीतापुरको पुलमुनि एउटा शव भेटियो । त्यो शव थियो- किसान, मजदूर र दलितको पक्षमा आवाज उठाउने एक शिक्षित र सचेत दलित युवा विश्वेश्वर उर्फ विशुको । विशुको शव भेटिएपछि कसैले आत्महत्या त कसैले हत्या भएको ठहराए ।
शासकहरूले विशुको शव आत्महत्या ठहराए तर गाउँले सिधासोजाले भने विशुको हत्या भएको ठहराए । उप–निर्वाचन नजिकिँदै गर्दा सीतापुरको दलित बस्तीमा आगजनी भयाे । दर्जनौं मान्छेको हत्या भयाे ।
जसको साक्षी विशु थिए । उनी आफूसँग भएको हत्याकाण्डको प्रमाण राजधानी लगेर पर्दाफास गर्न चाहन्थे । तर त्यसअघि नै उनको हत्या भयाे ।
उप–निर्वाचनको मुखैमा भेटिएको विशुको लासमाथि राजनीति हुन थाल्याे । पत्रकारहरूको लागि कमाउ धन्दा भयो विशुकाे लास ।
‘अटल सिंह– जिन्दावाद ’
‘प्रहरी प्रशासन– मुर्दावाद ’
एक जना नेताको समर्थनमा एउटा भिडले नारा लगाइरहेको छ । एकै छिनपछि अर्को समूहले त्यसै गरी आफ्ना नेताका पक्षमा नारा लगाउँदै आयो, ‘जुद्धवीर– जिन्दावाद’ ।
सीतापुरकाे घटनाकाे रिपाेर्टिङ गर्नकाे लागि मसाल पत्रिकाले सम्वाददाता पठाइयाे । विशुको हत्यारालाई उनका साथी विनोदले चिनेका छन् । सम्वाददाताले विनोदसँग भएकाे प्रमाणहरुसहित विनाेद र उनकाे साथीलाई मसाल पत्रिकाकाे कार्यालय र सम्पादकलाई भेट्न पठाए ।
सम्पादकलाई शासकहरूले आफ्नाे वशमा पारिसकेका थिए । सम्पादकले उल्टै विनाेद र उनकाे साथीलाई थर्काएर पठायाे । विनाेदसँग भएका प्रमाणहरू केही काम लागेनन् ।
सम्वाददाताले मेहनतले लेखेकाे समाचार पत्रिकामा छापिएन । आफ्नो समाचार र वास्ताविकता नछापिएपछि सम्वाददाताले पत्रिकाको जागिर नै छाडेर हिडे ।
विशुको हत्या अनुसन्धानका लागि इन्स्पेक्टर रिता चाम्लिङको नेतृत्वमा टोली खटाइयो । रिहर्सल चलिरहँदा पनि उनले हत्या गरिएका विशुका साथी विनोदलाई केरकार गरिरहिन् ।
प्रहरी चौकीभित्र केरकार र अनुसन्धान भइरहेको थियो । चौकी अगाडि भेला भएको भीडले नारा लगाइरहेको थियो ।
हत्यारा काे हाे भन्ने सबैबाट लुक्याे, लुक्याे भन्दा पनि लुकाउन सफल भए- शासकहरू, प्रहरी र मिडिया सबैबाट वास्तविक हत्यारा लुकाइयाे ।
एकातिर विशुको लास लडिरहेको छ । अर्कातिर नेताहरू भोजमा मस्त छन् । याे सीतापुर कहाँ पर्ला भनेर साेचिरहनु भएकाे हाेला र याे घटना कहिले भयाे भनेर साेचिरहनु भएकाे हाेला । याे मण्डला थिएटरमा मञ्चन भइरहेकाे नाटक ‘महाभाेज’ काे घटना र परिवेश हाे । सीतापुर तपाई-हाम्रै वरिपरि छ ।
राजनीति कस्ताे हुन्छ ? भनेर भारतको कुनै पिछडिएको गाउँको कथालाई भारतीय चर्चित लेखक मन्नु भण्डारीले लेखेकाे उपन्यास हो, महाभोज । उक्त उपन्यासलाई राष्ट्रिय नाट्य विद्यालयका लागि ‘महाभोज’लाई नाटकको स्वरूपमा ढालेकी थिइन् लेखिकाले नै ।
भारतमा निकै चर्चा कमाइसकेको यो नाटक राजनीति, भ्रष्टाचार र सर्वसाधारणको वरपर घुमेको छ । त्यही नाटकलाई नेपाली परिवेशमा कलाकारहरूले उतारेका हुन् । यसमा करिब ३७ जनाको समूह (दुई दर्जनभन्दा बढी कलाकार अनि पर्दा नेपथ्यका सहयोगीसहित) लागीपरेका छन् ।
उपन्यासको पहिलो अनुच्छेदमै लेखिएको छ, “बेवारिसे लासलाई गिद्ध नाच्दै–नाच्दै खाइरहेछ ।” गिद्धले नाच्दै सिनो खाएकोलाई लेखिका मन्नुले भ्रष्ट नेताले विशुको हत्या गरेकोसँग तुलना गरेको पाइन्छ ।
नाटक ‘महाभोज’ले समग्रमा राजनीति, प्रहरी र मिडियाको चक्रव्यूहभित्र बन्दी बनाइएका जनता देखाउन खोजेको छ । नैतिकता सकिएका र अन्तरद्वन्द्वसँग जुधिरहेका सत्ताधारी, प्रतिपक्ष र कर्मचारीतन्त्रका अवसरवादी चरित्रमाथि पनि व्यङ्ग्य गरेको छ ।
आफ्नो स्वार्थका नेताहरूले कसरी निर्दोष, दीनहीन जनताको सपना र सुखलाई खोसेर सत्ताको महाभोजमा सामेल हुन्छन् भन्ने सन्देश नाटकले दिएकाे पाइन्छ । नाटकको मनोरञ्जन भन्दा पनि यथार्थ चित्रण गरेकाे पाइन्छ ।
यो नाटकमा पत्रकारिता कसरी ‘पत्रुकारिता’ बन्छ भन्ने पनि देखाइएको छ । मिडियाहरुले कसरी समाचार बिक्ने हेडलाइन राख्छन् र सत्ताकाे प्रभावमा कसरी वास्तविक समाचार बाइपास गरिन्छ भन्ने समेत देखाइएको छ ।
नाटकमा कलाकार सिर्जना सुब्बाले इमानदार गर्भवती पुलिस इन्स्पेक्टरको भूमिका गरेकी छिन् । यसले गर्भवती हुनु कम्जाेर हुनु हाेइन भन्ने देखाएकाे छ ।
अनुप बरालको निर्देशन रहेको नाटकमा दयाहाङ राई, बुद्धि तामाङ, राजन खतिवडा, विप्लव प्रतीक, विजय बराल, राजन खतिवडा, सिर्जना सुब्बा, रमेश बुढाथोकी, बुद्धि तामाङ, राज न्यौपाने, विजय बराल, प्रदीपकुमार चौधरी, सोमनाथ खनाल, घनश्याम जोशीलगायतका कलाकारहरु छन् ।
गत १४ गते शनिबारबाट नियमित मञ्चन सुरु भएको नाटक सोमबार बाहेक हरेक दिन साँझ सवा पाँच बजे र शनिबार अतिरिक्त शो दिउँसो १ बजे पनि मञ्चन हुनेछ । महाभोज असोज १७ गतेसम्म चल्ने मण्डला नाटक घरले जनाएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।