- इरफान अली
बीरगञ्ज , २१ कात्तिक । नेपाल चलचित्र महासंघले आफनो ५३ औं वार्षिकोत्सवको अवसरमा हिमाल पहाड तराईको उत्सव नेपाली चलचित्र स्वर्णिम महोत्सव नाम दिएर वीरगञ्जमा चलचित्र महोत्सवको आयोजना गरेको छ । संघले वीरगञ्जजमा ३ दिने चलचित्र महोत्सवको आयोजना गरेको हो ।
वीरगञ्जको आदर्शनगर रंगशालामा आयोजित नेपाली चलचित्र स्वर्णिम महोत्सवको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले चलचित्र जगत आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने माध्यम भएकोले यसमा समय सन्दर्भमा समय सापेक्ष तालिम र शिक्षा दिदै भौतिक पूर्वधारको विकास गर्दै जानु पर्ने वताउनु भयो । साथै कलाकारहरु राष्ट्रका जागरुक तथा महत्वपूर्ण प्रतिनिधि पात्र भएकाले सामाजिक सहिष्णुता, शान्ति प्रवद्र्धन, पर्यटन विकास, पर्यावरणीय सन्तुलन र आर्थिक समृद्धिका सन्देश दूत बनेर समाजमा चेतना र जागरण फैलाउनु पर्ने उहाँको भनाइ थियो । उदघाटन समारोहमा नेपाली चलचित्र स्वर्णिम सम्मानले प्रथम चलचित्र छांयाकार वैकुण्ठ मास्के, प्रथम चलचित्र सम्पादक तीर्थलाल श्रेष्ठलाई राष्ट्रपति भण्डारीले सम्मानित गर्नु भएको थियो ।
नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सूचना तथा संचार मन्त्री गोकुलप्रसाद बास्कोटा, प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत, वीरगंज महानगरपालिका मेयर विजय सरावगी, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा लगायतको उपस्थिति रहेको थियो । महोत्सवमा प्रस्तुति दिन बलिउड सुपर स्टार गोबिन्दा आहुजा वीरगंज आएका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।