- कृष्ण पाण्डे,
बुटवल, ०३ मंसिर । यहि मंसिर ६ देखि ८ गतेसम्म हुन गइरहेको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौं केन्द्रीय महाधिवेशनमा बुटवलका चर्चित गीतहरुका सर्जक रमेश बिजीले अध्यक्ष पदका लागि उमेदवारी दिनेभएका छन् ।
तीन दिनसम्म पोखरामा हुन गइरहेको महाधिबेशनमा वर्तमान प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष रहेका सर्जक बिजीले आफू अध्यक्षमा विजयी हुने निश्चित जस्तै भएको दाबी गरेका छन् ।
उनले भने-‘म प्रतिष्ठानको संस्थापक सह-सचिव हुँ । म लगाएतका सबै पदाधिकारीहरु अध्यक्ष भई सक्नु भएको छ । यसपाली स्वतः मेरो पालो भएकाले मैले अध्यक्ष पदको उमेदवारी दिदै छु ।’
उनले थपे-‘स्थापना कालदेखि प्रतिष्ठानमा रहेर संस्थामा करोडौंको कोष स्थापना र भवन निर्माण गर्न हालसम्मका अध्यक्षहरुलाई सहयोग गरेको छु । यसर्थ पनि मलाई देशैभरका कलाकारहरुले साथ दिनुहुन्छ ।’
२०५५ सालतिर बुटवलबाट गायन र गीत सिर्जनाको यात्रा सुरु गरेका बिजीको स्थाई घर स्याङ्खजाको पुतली बजार नगरपालिका–१४ लामागे हो । बुटवलमा एक समयका पूराना कलाकारहरुको चेला रहेका उनी अहिले त्यसै बुटवलमा हुने महोत्सवहरु र अन्य गायन प्रतियोगितामा सहभागी प्रतियोगीका गुरु बनेर निर्णायक समेत बन्दै आएका छन् ।
झण्डै २० बर्षदेखि निरन्तर लोक दोहरी क्षेत्रमै आफू समर्पित रहेको उनले बताए । उनीसहित अर्का बरिष्ठ गायक बिष्णु खत्रीले पनि अध्यक्ष पदको उमेदवारी दिने चर्चा छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।