काठमाडौं । ‘सूर्य इन्टरनेशनल अवार्ड’को दोस्रो संस्करण जापानको टोकियोमा सम्पन्न भएको छ । दोस्रो संस्करणको अवार्डका लागि नेपालबाट दर्जनौँ कलाकार र पत्रकार जापान पुगेका थिए ।
५० बढी सिनेकर्मी र पत्रकारको उपस्थितिमा आयोजित समारोहमा कलाकारको उत्साहजनक उपस्थिति रहेको थियो भने दर्शकको भने खडेरी नै लागेको थियो । यसैबिच अवार्डमा उत्कृष्ट कलाकार, चलचित्र लगायतलाई सम्मान प्रदान गरियो । समारोहमा अनमोल केसीले पपुलर अभिनेताको अवार्ड थापे भने पपुलर अभिनेत्रीको अवार्ड ‘कायरा’बाट साम्राज्ञी राज्यलक्ष्मीले हात पारिन् ।
अनमोलले ‘क्याप्टेन’बाट पपुलर अभिनेताको अवार्ड हात पारेका हुन् । यसै गरी पपुलर चलचित्रको अवार्ड ‘छक्का पन्जा ३’ ले पायो, पपुलर निर्देशकको अवार्ड दीपाश्री निरौला, पपुलर सह-अभिनेत्रीमा वर्षा राउतले ‘गोपी’बाट र सह(अभिनेता तर्फ ‘जय भोले’बाट बुद्धि तामाङ उत्कृष्ट ठहरिए । समारोहमा क्रिटिक्स तर्फको तीन अवार्ड ‘प्रसाद’को पोल्टामा परे । अभिनेतामा विपिन कार्की र अभिनेत्रीमा नम्रता श्रेष्ठ क्रिटिक्सको नजरमा उत्कृष्ट ठहरिए । त्यस्तै उत्कृष्ट निर्देशकको अवार्ड ‘गोपी’बाट दीपेन्द्र लामाले जिते ।
जापानको नाकानो जिरो हलमा आयोजना गरिएको समारोहमा कलाकार विजय लामालाई ‘सूर्य कलाकारिता सम्मान २०१९’, कला पत्रकार लक्ष्मण सुवेदीलाई ‘चलचित्र पत्रकारिता पुरस्कार’ र जापनिज निर्देशक डास् तोशीआकी ईतोहलाई विशेष सम्मान प्रदान गरियो । अवार्ड समारोहका तस्बिर सार्वजनिक भएसँगै आयोजकले दर्शकलाई सहभागी गराउन नसकेको भन्दै सामाजिक सञ्जाल र फिल्म वृत्तमा आलोचना भइरहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।