काठमाडौं, ११ साउन । ‘नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड–२०२०” हुने भएको छ । कोरोना भाइरस तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाई चलायमान बनाउन र सांगीतिक क्षेत्रमा नयाँ आयाम थप्नको लागि कला, संस्कृति र सांगीतिक क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उदेश्यले संगीतका विभिन्न विधातर्फ ‘नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड–२०२०’ गर्न लागिएको हो ।
आयोजक कमिटिका अनुसार ‘नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड–२०२०’ आगामी भदौभित्र काठमाडौंमा गरिने भएको छ । म्युजिक अवार्ड आवेदनको लागि दर्ता फारम खुलिसकेको र भदौं १५ गतेसम्ममा फारम भरिने पनि आयोजक कमिटीले जानकारी गराएको छ ।
जसको लागि २०७६ असोजदेखि २०७७ भदौंसम्मका गीत संगीतहरुलाई समाबेश गरिने भएको छ, भने नव प्रतिभाको हकमा २०७६ भित्र गीत निकालेको हुनुपर्नेछ ।
क्रियटिभ ईन्साइट मिडियाको प्रस्तुतिमा हुन लागेको उक्त अवार्डलाई शुभकामना मिडिया सोलुसन प्रालिले ब्यबस्थापन गर्ने भएको छ। सञ्चारकर्मी सूर्य चन्दको अधक्ष्यतामा हुने यस अवार्ड कार्यक्रमको संयोजक तथा कार्यक्रम निर्देशक सुमन बैरागी पण्डित रहेका छन् ।
उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक–गायिका, पर्व विशेष गीत (तिज, दशैँ तिहार, होली), भजन, पप–आधुनिक गायक–गायिका, भाषा–भाषीका गीत, म्युजिक भिडियो, आर्ट तथा सांस्कृतिकलगायत विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ ।
अवार्डमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ सम्मान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।