काठमाडौं, ९ भदौ । अभिनेता राजेश हमालले चलचित्र प्राविधिक संघमा आबद्ध प्राविधिकहरुको कोरोना बीमा गरिदिने भएका छन् ।
जानकारी अनुसार केही समय अगाडि मात्रै भएको प्राविधिक संघका पदाधिकारीहरुसँगको भेटमा अभिनेता हमालले ६ सय जना प्राविधिकहरुको कोरोना बीमा गरिदिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
जसको लागि अभिनेता हमालले नामावली लिएर आउन आग्रह गरिसकेका जानकारी गराइएको छ । तर, कोरोना बीमाका लागि संघमा नामको बिषयमा छलफल गर्न बाँकी रहेको संघले जनाएको छ ।
जानकारी अनुसार अभिनेता हमालले ६ सय जना प्राविधिकको बीमाको गरिदिनुका साथै आर्थिक अवस्था कमजोर भएका केही सदस्यहरुलाई आर्थिक सहयोग पनि गर्ने भएका छन् । हाल प्रविधिक संघमा १३ सय बढी सदस्यहरु रहेका संघले जनाएको छ ।
जसमध्ये पनि करिब ६ सय जना भने चलचित्रको काममा पछिल्लो समयसम्म पनि सक्रिय प्राविधिक रहेका संघले जनाएको छ । सरकारले कोरोना रोकथाम तथा न्यूनीकरणका लागि जारी गरेको निषेधाज्ञा खुल्ने वित्तिकै बैठक बसेर बीमाका लागि नाम पठाउने संघले जनाएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।