मेलवर्न (अष्ट्रेलिया), ५ मंसिर । भिक्टोरियाका लागि नेपाली महावाणिज्यदूत कार्यालयले आफ्नो १२ औं वार्षिकोत्सव र छठ पर्वको अवसरमा ‘सूर्य चन्द्र अंकित मेरो देश’ बोलको राष्ट्रिय गीत सार्वजनिक गरेको छ ।
साहित्यकार निरु त्रिपाठीको शब्द, बरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यको संगीत तथा गायिका अस्मिता अधिकारीको आवाजमा ‘सूर्य चन्द्र अंकित मेरो देश’ राष्ट्रिय गीतको भिडियो सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतको भिडियोलाई मेलवर्नमै छायाङ्कन गरिएको हो । जीवन रसाइलीको निर्देशनमा बनेको गीतको भिडियोमा मेलवर्नमै रहँदै आएका समृद्धि (शाम) डाहा, राहुल गजमेरलगायतको अभिनय रहेको छ ।
महावाणिज्यदूत चन्द्र योन्जनले कार्यालयले नेपाली भाषा, संस्कृति, पर्यटन र व्यवसाय प्रवद्र्धन गरिरहँदा नेपाली गीत संगीतको पनि प्रवद्र्धन गर्नुपर्छ भन्ने हेतुले उक्त देशभक्ती गीतको भिडियो सार्वजनिक गरिएको बताए ।
महावाणिज्यदूत कार्यालयको जनसम्पर्क अधिकृत तथा सचिवसमेत रहेकी गीतकार त्रिपाठीको यो दोस्रो गीत हो । विदेशमा बसिरहँदा पनि स्वादेशलाई महसुस गरेर राष्ट्रिय गीत लेख्दा मनमा आनन्द लाग्ने उनले बताइन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।