काठमाडौं, २२ मंसिर । वरिष्ठ गायक जगतमर्दन थापाको निधन भएको छ । वरिष्ठ गायक थापाको थापाथलीस्थित नर्भिक अस्पतालमा सोमबार (आज) ८५ वर्षको उमेरमा निधन भएको हो ।
कोरोना देखिएपछि गायक थापा करिब एक महिना अस्पतालमा उपचाररत थिए । तर, कोरोनामुक्त भएको केही सातापछि उनको छातीमा समस्या देखिएको थियो । त्यसपछि उनी भेन्टिलेटरमा उपचाररत थिए ।
गायक थापाका एक छोरा र तीन छोरी रहेको छन् । पारिवारिक श्रोतका अनुसार थापाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।
सप्तरीको बरमझियामा जन्मेका गायक थापाले २०१३ सालबाट नै रेडियो नेपालबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए । त्यसपछि गायक थापाले २०१८ सालमा कोलकाताबाट ‘माया लुकाई लुक्दैन’ बोलको पहिलो गीत रेकर्ड गराएका थिए ।
उनले ‘४० वर्ष अघि र ४० वर्ष पछि’, ‘मनको शान्ति’, ‘माया लुकाई लुक्दैन’, ‘म पत्झड तिमी मधुमास’, ‘म मक्किएको धुरी खाँबो’लगायतका एल्बम ल्याएका थिए ।
गायक थापाले सञ्चय कोष, कृषि चुन उद्योग जस्ता निकायमा रहेर तीन दशकभन्दा लामो सरकारी सेवा गरेका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।