काठमाडौं । गत बुधबार बलिउडका चर्चित कलाकार गुल्शन ग्रोवर नेपाल आइपुगेका छन् । यही चैत १ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘द म्यान फ्रम काठमाण्डु’को प्रचार–प्रसारका लागि उनी नेपाल आइपुगेका हुन् ।
कलाकार गुल्शन नेपाल आएसंगै नेपाली दर्शकसँग साक्षात्कार गर्न पाटन दरबारसमेत पुगेका थिए । ललितपुर स्थित पाटन दरबार स्क्वायरमा ‘द म्यान फ्रम काठमाडण्डु’को युनिटले आयोजना गरेको एक कार्यक्रममा उनी सहभागी भएका थिए ।
यस कार्यक्रममा गुल्शनसँगै फिल्मकी मुख्य अभिनेत्री आना शर्मा, शिशिर बाङ्देल लगायतका कलाकार पनि उपस्थित थिए । सो कार्यक्रममा उनले नेपालीमा बोल्दै दर्शकलाई समेत धन्यवाद दिएका थिए ।
यसका साथै उनले ‘द म्यान फ्रम काठमाण्डु’ फिल्मको केही संवादहरू पनि बोलेका थिए । यो फिल्मलाई नकिम उद्दिन र पेमा डोन्डुप गकिलले निर्माण गरेका हुन्, भने पेमा डोन्डुप गकिलले नै निर्देशन पनि गरेका हुन् ।
यो फिल्ममा जोस म्यान्युल, आना शर्मा, गुल्शन ग्रोवर, हमिद शेख, कर्मा, शिशिर बाङ्देल, अमिर गौतम, निर शाह, बिकाश गुरुङ, कविता मानन्धर, मिथिला शर्मा, सुनिता ठाकुर, पुष्कर गुरुङ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
कलाकार गुल्शनलाई न्युज २४ टेलिभिजनले विशेष अन्तर्वार्ताका लागि आफ्नो स्टुडियोमा पनि निम्त्याएको छ । कलाकार गुल्शनसँगको विशेष अन्तर्वार्ता आज राति ९ः३० बजे प्रसारण हुँदैछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।