काठमाडौं । गायिका पारु राई एक दशकपछि पुनः आफ्नो सांगीतिक कोसेली “तिम्रो तृष्णा” लिएर दर्शक÷स्रोतामाझ आएकी छन् । एक दशक अघि “प्यास” नामक गीति एल्बमबाट सांगीतिक यात्रा तय गरेकी राईले “तिम्रो तृष्णा” गीत लिएर दर्शक सामु पुनः आएकी हुन् ।
गायिका राईलाई भ्वाइस अफ नेपालका फाइनलिष्ट बिकाश लिम्बूले साथ दिएका छन् । पछिल्लो समय बिकाश सम्भावना बोकेका गायकको रुपमा पनि परिचित छन् ।

गीतको शब्द रचना गायिका स्वयंको हो, भने संगीत वरिष्ठ गायक तथा संगीतकार तारा प्रकाश लिम्बूले भरेका छन् । यूके र नेपालका विभिन्न सुन्दर तथा रमणीय ठाउँमा छायांकन गरिएको गीतको भिडियोमा छांयाकन, सम्पादन एवं निर्देशन सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका छन् ।
नेपालतर्फ सुरज तामाङले निर्देशन गरेका हुन् । करिब डेढ दशक यता ब्रिटिश गोर्खा सेनामा सेवारत साथै सामाजिक अभियन्ता मण्डल थेवे, पारु राई, बिकाश लिम्बू र बृक्षा लिम्बूले यस गीतमा अभिनय गरेका छन् ।

टिकटकमा समेत राम्रो फलोअर्स कमाएका मण्डल थेवे टिकटकमा प्राय गोर्खा भर्ती सम्बन्धी जानकारी एवं सन्देशमुलक भिडियोहरु हाल्ने गरेका छन् । सानै उमेरदेखि कलाकारितामा झुकाव भएकाले अवसर पाएसम्म समय मिलाएर कलाकारितामा निरन्तर लाग्ने उनले बताए ।
भिडियोमा मेकअप बिपना गुरुङ, सह–छांयाकन आशिष श्रेष्ठ र रंग संयोजन नवीन निरौलाको रहेको छ । नेपाल छँदै संगीतको आधारभुत शिक्षा लिइसकेकी गायिका राईले आफ्नो पारिवारिक जिम्मेवारीको कारण आफ्नो सांगीतिक यात्रालाई औपचारिक रुपमा निरन्तरता दिन नसकेपनि बिगत तीन वर्ष यता द लण्डन कलेज अफ म्युजिक अन्तर्गत क्लासिकल पियानो सम्बन्धी कक्षा लिइरहेकी छिन् ।
प्रवासमा रहेर आफूलाई मन पर्ने पेशा अंगाल्नका लागि सोचे जस्तो सहज नभएको कारण ब्रिटिश आर्मीमा कार्यरत श्रीमान दिलिप राईको साथ र प्रोत्साहनले आगामी दिनमा सांगीतिक क्षेत्रमा निरन्तर लाग्न अझ धेरै प्रेरित गरेको उनले बताइन् ।
पाँचथरमा जन्मिएकी र हाल बेलायतमा पल्टने जीवन बिताइरहेकी पारु राई करिब ९ वर्षदेखि स–परिवार बेलायत बस्दै आएकी छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।