काठमाडौं । रामनन्द सागरको ‘रामायण’मा ‘आर्य सुमन’को भूमिका निभाएका बरिष्ठ कलाकार चन्द्रशेखर बैद्यको ९८ वर्षको उमेरमा निधन भएको छ । बरिष्ठ कलकार चन्द्रशेखरको बुधबार विहान सात बजे आफ्नै घरमा निधन भएको हो ।
निर्देशक समेत रहेका चन्द्रशेखरलाई गत सातामात्रै एक दिनका लागि अस्पताल भर्ना गरिएको थियो । चन्द्रशेखरका छोरा अशोकले भारतीय मिडियासँग कुराकानी गर्दै निदाउदा निदाउँदै बुबाको निधन भएको बताएका छन् ।
उनले मिडियासँग भनेका छन्, ‘बुबालाई कुनै किसिमको रोग थिएन । बुबाको निधन निद्रामै भयो । उहाँलाई गत विहीबार एक दिनको लागि अस्पताल भर्ना गरिएको थियो । त्यसपछि उहाँलाई घर ल्याएका थियौं ।’
उनका अनुसार चन्द्रशेखरको गएरातिसम्म स्वास्थ्य ठीक थियो । चन्द्रशेखरको आज साँझ विले पार्लेमा अन्तिम दाहसंस्कार गरिने उनका छोरा अशोकले बताएका छन् ।
चन्द्रशेखरले ५० र ६० को दशकमा कयौं फिल्ममा मुख्य भूमिकामा काम गरेका थिए । उनले फिल्मसँगै टीभी शोजमा पनि काम गरेका छन् । उनले १९५४ मा ‘औरत तेरी ये कहानी’बाट फिल्मी करियर सुरु गरेका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।