काठमाडौं । दुई वर्ष अगाडि निर्माण घोषणा गरिएको फिल्म ‘के घर के डेरा’को निर्देशक फेरबदल भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिल्ममा निर्देशकको रुपमा दिपेन्द्र के खनालले काम गर्ने जानकारी दिइयो ।
यसअघि यस फिल्मको निर्देशकमा सुव्रतराज आचार्य थिए । उनले विभिन्न कारण देखाई निर्देशक भएर काम गर्न नसक्ने भनेपछि निर्देशकको जिम्मा खनाललाई दिएको निर्माण पक्षले बताएको छ ।
फिल्मलाई खनालले निर्देशन गर्ने भएपछि फिल्मको कथा र पटकथा दुवैमा परिवर्तन हुने भएको छ । काठमाडौंमा मात्र छायांकन हुने फिल्मले काठमाडौंमा घर हुने र नहुनेको कथालाई देखाउने छ ।
कार्यक्रममा निर्देशक खनालले फिल्मलाई राम्रो बनाउन आफूले सकेको प्रयास गर्ने बताए । ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन रहेका छन् भने कार्यकारी निर्मातामा युवराज कार्की छन् ।
पैँतिस वर्ष अगाडि प्रदीप रिमाल निर्देशित चलचित्र ‘के घर के डेरा’को नाम सापटी लिएर फिल्म बन्न लागेको हो । फिल्ममा मुख्य कलाकारहरु भने यथावत छन् । ‘के घर के डेरा’मा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झाको मुख्य भूमिका रहनेछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।