काठमाडौं । पछिल्लो समय बलिउडका मुन्ना भाई अर्थात् सञ्जय दत्त आफ्नो नयाँ फिल्म ‘केजीएफः च्याप्टर २’लाई लिएर निकै चर्चामा छन् । उनले केही समययता आफ्नो फिल्मको प्रचार–प्रसारलाई तीब्रता दिएका छन् ।
सञ्जय दत्तले आफ्नो उमेरका कारण आफूलाई धेरै भूमिकाका लागि फिट नरहेको स्वीकार गरेका छन् । हालै एक प्रमोशनल इभेन्टमा उनले अन्य स्टारजस्तै युवा अभिनेत्रीहरुसँग पर्दामा रोमान्स गर्न नसक्ने पनि बताएका छन् ।
गुड टाइम्ससँगको एक अन्तर्वार्तामा सञ्जय दत्तलाई अन्य स्टारहरूले युवा अभिनेत्रीहरूसँग फिल्ममा रोमान्स गर्छन् तर, तपाईले किन गर्नुहुन्न भनेर प्रश्न सोधिएको थियो । त्यसको जवाफमा अचम्म मान्दै उनले भनेका छन्, ‘त्यसोभए अब मैले आलिया भट्टसँग रोमान्स गर्नु ?’
उक्त अन्तर्वार्ताका क्रममा सञ्जय दत्तले आलिया भट्ट र उनका प्रेमी रणवीर कपूरको खुलेरै तारिफ पनि गरेका थिए ।
आलिया–रणवीरसँग काम गरिसकेका छन्
महेश भट्टले निर्देशन गरेका फिल्म ‘सडक–२’मा सञ्जय दत्तले आलिया भट्टसँग काम गरिसकेका छन् । अहिले उनी रणवीर कपुरसँग फिल्म ‘शमशेरा’मा पनि काम गर्दैछन् । सञ्जय दत्तले रणवीर र आलिया निकै मेहनती कलाकार भएको बताएका छन् ।
सञ्जय दत्तले रिलिजमा तयारीमा रहेको ‘केजीएफः च्याप्टर २’मा खतरनाक खलनायकको भूमिका निभाएका छन्, जहाँ उनको नाम अधीरा हो । फिल्मबाट सार्वजनिक उनको लुकलाई फ्यानहरुले निकै रुचाएका छन् ।
यो फिल्ममा यश, रविना टण्डन र प्रकाश राज जस्ता कलाकारले काम गरेका छन् । यो फिल्म १४ अप्रिलबाट दर्शकहरुमाझ रिलिजमा आउँदै छ । फिल्मलाई प्रशान्त नीलले निर्देशन गरेका हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।