- हरिशंकर शर्मा
वीरगन्ज (पर्सा) । ‘मिस नेपाल– २०२२’ यही असार ४ गते काठमाडौंमा हुने भएको छ । द हिडन ट्रेजरको आयोजनामा प्रतियाेगिता यही असार ४ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने बताइएको छ । साेमबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले नेपाल पेजेन्ट २०२२ को लागि आवेदन खुल्ला गरिएको बताए ।
दुई वर्षको महामारीले यहाँ सौन्दर्य प्रतियोगिता संचालन गर्ने धेरै चुनौतिहरु आए, नेपालमा मात्रै नभई यसको अवसर विश्वभरि रह्यो, जसको कारण कुनै देशले पेजेन्ट स्थगित गर्यो भने कुनै देशले रद्द नै गरे तर द हिडन ट्रेजरले कोभिडका नियमहरु सबै पालना गर्दै मिस नेपाल पेजेन्ट २०२० गर्न सफल रह्यो, जसमा मिस नेपाल वर्ल्डकाे ताज नम्रता श्रेष्ठले हात पार्न सफल भइन् ।
त्यसैगरी सन् २०२१ मा मिस नेपाल हुन सकेन, र यसैक्रममा यस वर्ष मिस नेपालको पेजेन्टलाई अझै फराकिलो बनाउनका लागि ७ वटै प्रदेशमै अडिसन शुरु गरिएको छ । नेपालका सबै भुभागबाट मिस नेपालमा प्रतिनिधिले सहभागी जनाउन पाओस् भन्ने उद्देश्यसहित यही वैशाख ९ गतेदेखि पोखरा, वीरगन्ज, धरान, धनगढी, नेपालगन्ज, सुर्खेत तथा काठमाडौंमा अडिशन खुल्ला गरिएको अध्यक्ष कर्णिकारले जानकारी दिए ।
उनका अनुसार गण्डकी प्रदेशको पोखरामा यही वैशाख ११ गते अडिशन सम्पन्न भइसकेको छ भने मधेश प्रदेशको वीरगन्जमा यही वैशाख १४ गते बुधबार होटल भिस्वामा हुनेछ भने लुम्बिनी प्रदेशको नेपालगन्जमा वैशाख २१ गते अडिशन हुने बताए । यसैगरी कर्णाली प्रदेशको सुर्खेतमा वैशाख २१ गते नै अडिशन हुनेछ भने सुदुरपश्चिम प्रदेशको धनगढीमा वैशाख २४ गते अडिशन हुने भएको अध्यक्ष कर्णिकारको भनाई छ ।
यसैगरी प्रदेश १ को धरानमा वैशाख २६ गते अडिशन हुनेछ भने बागमती प्रदेशको काठमाडौंमा जेष्ठ ३ गते अडिशन हुने र अडिशनबाट छनौट गरिएको प्रतियोगीहरुलाई नेपालका उत्कृष्ट प्रशिक्षकहरुबाट एक महिनाको लामो विभिन्न विद्याका तालिमहरु दिई प्रतियोगितामा सहभागी गराइने अध्यक्ष कर्णिकारको भनाई छ । उनका अनुसार यस वर्षको मिस नेपाल फाइनल पहिलो पटक झण्डै ३ हजार क्षमताको हलमा सम्पन्न हुनेछ भने प्रतियोगीको उचाई ५ फिट ४ इन्चबाट घटाएर ५ फिट ३ इन्च उचाईको मापदण्ड बनाइएको बताए ।
साथै यसै वर्षदेखि प्रतियोगीको उमेर १८ वर्षदेखि २७ वर्षसम्म कायम गरिएको छ । यो वर्षको पेजेन्टमा मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल गरी तीनवटा मुख्य टाइटल रहनेछ भने मिस ‘सुप्रानेशनल’ को फ्रेन्चाइजलाई भने निरन्तरता नदिइएको अध्यक्ष कर्णिकारले बताए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।