काठमाडौं । अभिनेता प्रदीप खड्काले फिल्म ‘प्रकाश’लाई हलहरुमा प्रदर्शनको लागि स्थान नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभिनेता प्रदीपले नेपाली कथावस्तु बोकेको बौद्धिक चलचित्रलाई हलहरुले प्रदर्शनको लागि स्थान नदिएको बताएका हुन् ।
अभिनेता खड्काले दर्शकको माग आइरहेको अवस्थामा समेत आफूलाई निशाना बनाएर हलहरुले स्थान नदिएको गुनासो गरे । अभिनेताले ‘प्रकाश’लाई ३ बजेपछिको शोहरु पनि नदिएको र बिहानको शोहरु पनि नदिएको बताए ।
उनले ठूलो हलहरुले नै नेपाली फिल्मलाई बेवास्ता गरेको भन्दै अब फिल्म चोकचोकमा प्रोजेक्टर लगाएर देखाउनुपर्ने भएको बताए । उनले प्रकाश फिल्म पैसा कमाउनका लागि नभइ कर्णालीको कथा देखाउने मुल उद्देश्य रहेको बताए । उनले शो नपाए चोक–चोकमा प्रोजेक्टर लगाएर फिल्म चलाउने बताए ।
उनले भने, ‘सिधा भन्दा ओपन कम्पिटिशन हो । बाहिरको फिल्म पनि आएका छन्, हामी पनि जान्छौँ । सामान्य कुरा हो । तर, बायसनेस भयो कि भएन भन्नेकुरा मात्रै हो मेरो । हाम्रो फिल्म मास अपिलिङ भनेर लाग्दैन होला । तर यो फिल्म झुर नै हो, फिल्म इण्डस्ट्रिको लागि कलंक नै हो भनेर पनि त कसैले भन्न त सक्दैन नि । त्यसरी ट्याग लगाउन त भएन नि । उहाँहरुले फिल्म हेर्नुभएको छैन, अडियन्सले फिल्म हेरेर राम्रो प्रतिक्रिया दिइरहनुभएको छ ।’
उनले फेरि भने, ‘हामी हिजोबाट बोल्न थालेपछि सिनारियो चेन्ज भएको छ । हामीले फिल्म प्रदर्शनी गर्दा परिस्थिति अर्कै थियो । ३ बजेपछि प्रकाशको शो नै छैन । सबैभन्दा ठूलो हलहरुले शो दिएका रहेनछन् । फिल्म बनाएका छौँ । हल नपाएपछि अब हल त बनाउन सकिँदैन, चोकचोकमा प्रोजेक्टर लगाएर फिल्म देखाउनपर्ने भएको छ । हामीलाई पैसा कमाउने होइन, कर्णालीको कथा देखाउनु थियो । यदि शो पाइएन भने चोक चोकमा प्रोजेक्टर लगाएर फिल्म चलाउने हो । कतै न कतै नियतमा खोट छ ।’
त्यस्तै, अभिनेता खड्काले सिनेघर सञ्चालकहरुको नियतमा खोट रहेको दाबी गरे ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।