काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली फिल्म अन्तर्राष्ट्रिय स्तरमा नपुगेसम्म नेपालको कला र संस्कृतिको विकास गर्न नसकिने बताएका छन् । आइतबार चलचित्र विकास बोर्डले नेपाली चलचित्र ‘प्रेमगीत–३’लाई बधाई एवं शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष केसीले नेपाल चलचित्र विकास बोर्डले फिल्मलाई विश्वव्यापी रुपमा प्रदर्शनमा ल्याउन गर्नसक्ने जति काम गर्ने प्रतिबद्धता जनाए । उनले नेपाली भाषी फिल्मलाई नेपाली सिनेहलमा पहिलो प्राथमिकतामा राखेको पनि बताए । उनले नेपाली चलचित्रका निर्माताहरुले जबसम्म आफ्नो लगानी सुरक्षित गर्न सक्दैनन् तबसम्म नेपाली चलचित्र सुरक्षित नहुने दाबी गरे ।
अध्यक्ष केसीले फिल्मको व्यवस्थीकरणका लागि नीति निर्माणका क्षेत्रमा काम थालेको र चाँडै नीति बनिसक्ने दाबी गरे । उनले फिल्म व्यवस्थापनका लागि नीति बनाइसकेपछि फिल्मकर्मीलाई नेपाली सिनेमाप्रति आत्मविश्वास बढ्ने बताए ।
अध्यक्ष केसीले नेपाली सिनेमालाई राम्रो बनाउनको लागि आफूले मुम्बईको गल्लीमा पसिना बगाएको स्मरण गरे । उनले प्रेमगीत विश्वभर चल्ने खबरले फिल्मकर्मीको लागि चाड भन्दा पनि ठूलो भएको बताए ।
कार्यक्रममा वरिष्ठ कलाकार सुनिल थापाले धेरै निर्माताहरुको फिल्म अब अन्तर्राष्ट्रिय स्तरको बन्ने बताए । उनले प्रेमगीतले यो वातावरण सिर्जना गरेको भन्दै आगामी दिनमा नेपाली चलचित्र पनि विश्वमा प्रदर्शनी हुने बताए । वरिष्ठ अभिनेता थापाले चलचित्र सुटिङमा मनसुनको धेरै दुःख सहेर काम गरेको बताए ।
उनले सुटिङमा सबैले रमाइलो गरेको अनुभव सुनाए । उनले नेपालीको मनभित्र नेपाली फिल्म नै हुनुपर्ने बताए । उनले हिन्दीमा डबिङ भएको प्रेमगीत हेर्ने भन्नेकुरा आएकोले नेपाली भाषामै रहेको फिल्म हेर्न आग्रह गरे ।
कार्यक्रममा वरिष्ठ अभिनेता शिव श्रेष्ठले सरकारले फिल्म प्रेमगीत ३ को कर फ्री गर्न माग गरे । उनले राष्ट्रलाई चिनाउने फिल्मलाई राष्ट्रले पनि केही सहयोग गर्नुपर्ने बताए । उनले कलाकारलाई सम्मान गर्ने हो भने अग्रज कलाकारबाट सम्मान गर्नुपर्ने बताए ।
उनले मनाङमा पुगेर प्रेमगीत ३ को सुटिङ गर्दा निर्माण टिमले अभिभावकको जसरी कलाकारहरुलाई ध्यान दिएको बताए । उनले मातापिताको जस्तो अभिभावकीय भूमिका निर्माण पक्षले गरेको भन्दै प्रशंसा गरे ।
नेपाली फिल्म प्रेमगीत ३ आगामी असोज ७ गते नेपाल र भारतमा एकसाथ प्रदर्शन हुँदैछ । साथै चीनमा पनि फिल्म प्रदर्शन हुने निर्माण पक्षले बताएको छ । फिल्ममा अभिनेता प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा लगायतका वरिष्ठ कलाकारहरुको मुख्य अभिनय छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।